काठमाडौं । सहकारी रकम अपचलन गरिएको विषयमा बनेको संसदीय छानविन समितिले काम सुरु गरेको छ ।
बुधवार बसेको समितिको पहिलो बैठकले कार्यविधि र कार्ययोजनाको मस्यौदा बनाउन समिति सचिवालयलाई जिम्मेवारी दिएको छ ।
प्रतिनिधि सभामुख देवराज घिमिरेको उपस्थितमा भएको समितिको बैठकमा आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा तयार गर्ने जिम्मेवारी समिति सचिवालयलाई दिइएको सभापति सूर्य थापाले बताए ।
जेठ १५ गठन गरिएको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन ।
समितिले आगामी शुक्रबार आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा पेस गर्न समिति सचिवालयलाई भनेको छ ।
समितिलाई संसद्ले तीन महिनाभित्र छानबिनको कार्य सम्पन्न गर्न सीमा दिएको छ । समितिको अर्को बैठक आगामी शुक्रबार बोलाइएको छ ।
Categorized in राष्ट्रिय