काठमाडौं । उच्च अदालत पाटनले सवारी साधन चेकिङका क्रममा चाबी (साँचो) खोस्ने कानुनी अधिकार ट्राफिक प्रहरीलाई नरहेको बताएको छ ।
हाल सार्वजनिक भएको यस मुद्दाको पुर्णपाठमा यस किसिमको व्याख्या गरिएको छ ।
‘कानूनले तोकेको कारबाहीबाहेक त्यस्तो चाबी खोस्ने समेतका कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा निर्देशनात्मक आदेशसमेत जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ ।
आदेशमा प्रहरी कर्मचारीले चेकजाँचको नाममा सर्वसाधरणलाई त्रासमा राख्ने किसिमको अभिव्यक्ति दिनु शोभनीय नहुने आदेशमा उल्लेख छ ।
‘कानूनमा चाबी खोस्न पाउने भन्ने व्यवस्थाको अभावमा सार्वजानिक पदमा रही कर्तव्य निर्वाह गर्न जाँदा कानूनले तोकेको विधि र मान्यताको पालना गर्नुपर्ने हुन्छ, त्यस्तो व्यवस्था नै नभएको अवस्थामा सर्वसाधारणलाई त्रासमा पार्ने किसिमको अभिव्यक्ति दिनु प्रहरी कर्मचारीको निमित शोभनीय हुँदैन,’ आदेशमा भनिएको छ ।
ट्राफिक प्रहरीले चाबी खोस्न पाउने विषयमा कानुनी व्यवस्था नरहेको आदेशमा उल्लेख छ ।
‘तसर्थ चाबी खोस्न पाउने भनी सम्बन्धित प्रहरी कर्मचारीको भनाइसम्म रहेको भन्ने मिसिलसंलग्न प्रमाणहरूबाट देखिन आउँदा कानूनमा त्यसरी चाबीसमेत खोस्न सक्ने कानूनी व्यवस्थाको अभाव रहेको परिप्रेक्ष्यमा विपक्षीहरूको नाममा निर्देशनात्मक आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिन आउँछ,’ आदेशमा भनिएको छ।
नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थी विवेक चौधरीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर कात्तिक ७ गते दायर रिटमा विपक्षीका नाममा न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेले निर्देशनात्मक आदेश जारी गरेको थियो ।
असोज ३ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनअगाडि टुकुचे खोला क्षेत्रनजिकै ट्राफिक प्रहरीले एक जना सवारी चालकसँग वादविवाद गरेको भिडिओ प्रमाणको रूपमा उच्च अदालतमा निवेदक चौधरीले पेस गरेका थिए ।
फाइल तस्वीर
उच्च अदालतको पूर्ण पाठ हेर्न यसमा क्लिक गर्नुहोस्
Categorized in राष्ट्रिय