काठमाडौं । मातृभाषा पत्रकारिता गर्दै आएका मातृभाषी पत्रकारहरुको एक दिने मातृभाषा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
मंगलवार काठमाडौंमा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा आयोजित सो सम्मेलनमा पत्रकारहरुले बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसंग माग गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि रहेकी काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षणमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताईन ।
उनले भाषासँगै लिपीलाई लिएर अघि बढ्न पत्रकारहरुलाई सुझाव दिदै भनिन राज्यको काम व्यस्थापन गरिदिने हो यसलाई प्रयोगमा ल्याउने समुदायको आफै हो ।
देश बहुभाषिक, बहुसांस्कृतिक भएकाले यो पहिचान जोगाउन भाषाको संरक्षण अनिवार्य हुने उनले सो अवसरमा चर्चा गरिन ।
त्यसैगरी नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्कार, संस्कृतिको संरक्षण गर्न भाषाको संरक्षण अनिवार्य शर्त भएकाले मातृभाषा पत्रकारिता जोगाउन सरकारले आवश्यक सहयोग गर्न आवश्यक रहेको बताए ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मातृभाषाको पत्रकारिताको संरक्षण र पत्रकारको विकासको लागि सरकारले विशेष नीति ल्याउनुपर्ने माग गरे ।
दबूका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले सरकारले हरेक वर्ष प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाका पत्रकारहरुलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका छन ।
सम्मेलनले आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह पनि गरेको हो । वि.सं १९८२ नेपाल संवत १०४५ बुद्ध जयन्तिका दिन शुरु भएको नेवा मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुनेहुनाले २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।
त्यस्तै, सम्मेलनले मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।
मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न माग गर्दै सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
सो अवसरमा अजितमान तामाङ र सुरेशकिरण मानन्धरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि विभिन्न मातृभाषी पत्रकारले टिप्पणी तथा धारणा राख्नुभएको थियो । कार्यक्रममा मधेसी पत्रकार समाजका मोहन सिंह, लिम्बु मातृभाषी पत्रकार विष्णु लिम्बु, मैथिली भाषाी प्रतिनिधि रुपा झा, तामाङ पत्रकार संघका बुद्ध योन्जन तामाङ,उपेन्द्र प्रधान, शेर्पा सञ्चार समूहका पाशाङ शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए ।
पत्रकारहको भेलाले मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
काठमाडौं घोषणा पत्र (पूर्ण पाठ)
१. आज भन्दा ९७ वर्ष पहिले वि।सं १९८२ साल ९नेपाल संवत १०४५० बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ । यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
२ं. विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको “मातृभाषा पत्रकारिता दिवस” लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गर्दछ ।
३. मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकासित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।
४. वि.सं १९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्धधर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पुर्याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रुपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रुपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
साथै, यो दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सरकार समक्ष निम्न मागहरु राख्दछः
५. मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारहरुको क्षमता विकासका लागि सरकारी तहबाट धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न यो सम्मेलन माग गर्दछ ।
६. मातृभाषामा प्रकाशितरप्रसारित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यमका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट लोक कल्याणकारी विज्ञापनको विशेष व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।
७. नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न पत्रकारिता पुरस्कारको सवालमा विशेष मापदण्ड बनाई मातृभाषामा पत्रकारिता गर्ने समुदायका पत्रकारलाई अनिवार्य समेट्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ ।
८. सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।
९. भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अबिलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन सरकार समक्ष माग गर्दछ ।
१०. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विभिन्न तथ्यहरुबाट पुष्टि भइसकेको सन्दर्भमा श्री श्रेष्ठलाई अबिलम्ब महासंघको संस्थापक अध्यक्ष घोषणा गर्दै इतिहास, तथ्य र प्रमाणहरुको सम्मान गर्न पत्रकार महासंघ, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।
Categorized in सम्पदा/संस्कृति