काठमाडौं । सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारी खोज्नेको लागि शुक्रबार ‘जबखोज’ एप्स सार्वजनिक गरेको छ ।
रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार क्रियाशील रहेको बताए ।
रोजगारदाता र रोजगारीको खोजीमा रहेका दुवै पक्षले एप्सबाट फाइदा लिनसक्ने छ ।
एप्सको माध्यबाट बेरोजगार व्यक्तिलाई रोजगारीको सम्भावित क्षेत्रसम्म जोड्न सहयोग पुग्ने मन्त्री विष्टले विश्वास व्यक्त गरे । रोजगारी सम्बन्धी जानकारी सबैको पहुँचमा हुने गरी एप्सको परिमार्जन गर्न सकिने समेत जानकारी दिएका थिए ।
अनलाईन जबखोज पोर्टल र मोबाइल एप्सलाई ७५३ स्थानीय तहमार्फत सञ्चालनमा लगिने भएको मन्त्रालयले जनाएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त एप्स निर्माण गरिएको हो ।
उक्त एप्समार्फत कामको प्रकार, पारिश्रमिक सीमा, आवश्यक सीप, शिक्षा र ठेगनाका आधारमा उपलब्ध रोजगारीको अवसरका बारेमा जानकारी लिन सकिन्छ ।
Categorized in प्रबिधि