काठमाडौंं । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि उपत्यकमा १२० वटा आईसीयू बेड बनाउने भएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०÷२० वटा आईसीयू वेड बनाउने तयारी गरिएको छ ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले आईसीयू वेडहरु निर्माण गर्ने निर्णय गरेको हो ।
समितिका अनुसार उपत्यका बाहिर देश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड निर्माण गर्ने समितिले निर्णय गरेको छ ।
त्यसैगरी समितिको बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको एक अधिकारीले जानकारी दिए ।
जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००÷१०० आइसोलेटेड बेड बनाइनेछ । यस्तै भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइनेछ ।
कोरोना संक्रमणले विश्वव्यापी लिएपछि सरकारले संक्रमण भित्रन नदिन पूर्वतयारी थालेको छ ।
Categorized in राष्ट्रिय