काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन ।
शनिवार काठमाडौंमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे ।
उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
सो कार्यक्रमा उनले कार्यकर्ताहरुलाई पार्टी सबल बनाउन अभियानात्मक रुपमा अघि बढ्ने उल्लेख गर्दै जिल्ला जिल्लामा अभियान बनाएर जान निर्देशन समेत दिए ।
‘अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अव यो अन्तिम समयसम्म साथीहरू, नेताहरू कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं ।’ उनले भने ।
Categorized in राष्ट्रिय