काठमाडौं । सुनसरीको दुहवी नगरपालिका – ९ रानीगाउँ स्थित बुधवार अज्ञात समुहद्वारा गोली हानी हत्या गरिएका फिदा हुसेनको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति सहित रोजगरी दिने प्रतिवद्धता गरेको छ ।
बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुसेनका परिवारलाई १० लाखसहित रोजगारी दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मर्निङवाकका लागि स्थानीय जयबाबा इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार गरी हत्या गरिएको थियो ।
हत्या भएको २४ घण्टा बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवार, आफन्त, स्थानियवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका गरेर गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।
आफन्तहरूले हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत संस्थामा छोरालाई जागिरको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।
आज दिउसो हेसनका आफन्त र प्रशासनबीच सहमति जुटेपछि हुसेनको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ ।
Categorized in समाज