१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सम्पदा संरक्षणमा तथ्यमा आधारित पत्रकारिता आवश्यक


प्रकाशित: विहिवार, १९ चैत २०८२, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । संस्कृति तथा सम्पदा संरक्षणका लागि पत्रकारहरूले तथ्यमा आधारित रिपोर्टिङ गर्दै जनचेतना फैलाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन ।


नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासँग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्रअन्तर्गत बिहीबार राजधानीमा आयोजना गरेको ‘सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागीहरूले यस्तो बताएका हुन । 


उनीहरूले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा लापरवाहीमाथि निगरानी राख्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन पत्रकारिताको ‘वाचडग’ भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए ।


कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले सम्पदा संरक्षणका लागि स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए । 


काठमाडौं उपत्यकाको मौलिक पहिचान जोगाउन सञ्चार क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।


गुठी संस्थानका पूर्व प्रशासक किरण शाक्यले गुठी प्रणालीलाई सम्पदा संरक्षणको मेरुदण्डका रूपमा उल्लेख गर्दै पत्रकारहरूले यससँग सम्बन्धित विषयमा गहिरो अध्ययनसहित तथ्यपरक सामग्री प्रस्तुत गर्नुपर्ने धारणा राखे ।


संस्कृतिकर्मी जितेन्द्रविलास बज्राचार्यले मातृभाषामार्फत पत्रकारिता र डिजिटल माध्यमको प्रयोग संस्कृति तथा सम्पदा संरक्षणका लागि प्रभावकारी हुने बताए । 


उनले सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन सञ्चारमाध्यमले सही व्याख्या र सन्दर्भसहित सामग्री प्रकाशन गर्नुपर्नेमा जोड दिए ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले नीतिगत सुधारका लागि बहस सिर्जना गर्ने, विज्ञ तथा सरोकारवालाको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने तथा लोपोन्मुख संस्कृतिको संरक्षणमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताए ।


पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकारहरूको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई स्थानीय पहिचान, भाषा र मौलिक ज्ञानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे । 


उनले नेपालभाषामार्फत लोपोन्मुख परम्परा, कथा, गुठी प्रणाली तथा संस्कारहरूको दस्तावेजीकरणमा मातृभाषा पत्रकारिताको विशेष योगदान रहेको बताए ।


निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारहरूले सम्पदा, भाषा र संस्कृतिसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए । 


वरिष्ठ पत्रकार विराजकाजी राजोपाध्यायले संस्कृति तथा सम्पदासम्बन्धी रिपोर्टिङका लागि अध्ययन र सन्तुलित प्रस्तुतिको आवश्यकता औंल्याए ।


कार्यक्रममा दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव के।के। मानन्धर र सचिव राजु नापितले पत्रकारिताको प्रवद्र्धन, नागरिक पत्रकारिता, तालिम, स्रोत–साधनको उपलब्धता तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex