काठमाडौं । काठमाडौं महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने अभियान अन्तर्गत आईतबार ९ वटा नगरपालिकालाई ९ करोड प्रदान गरेको छ ।
आइतबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नगर प्रमुखहरुसँग साझेदारिता सम्ब्न्धि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहयोग रकमवापत्को चेक उपलब्ध गराएको छ ।
स्थानीयस्तरको पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी सो रकम उपलब्ध गराएको महानगरले जनाएको छ ।
काठमाडौंका १० वटा नगरपालिकामध्ये टोखा नगरले गएको असार २० गते रकम लगिसकेको छ ।
रकम पाउने नगरपालिकाहरुमा कीर्तिपुर नगरपालिका, शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका रहेका छन ।
महानगर प्रमुख शाक्यले यी नगरपालिकाका मेयरहरुलाई चेक हस्तान्तरण गरेका थिए ।
महानगरपालिकासँग भएको सम्झौता अनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ बनाउनु पर्नेछ । शंखरापुर नगरपालिकाले वडा नं.९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्नेछ । कागेश्वरी नगरपालिले प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गर्नेछ ।
त्यसैगरी गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समिति बीच सम्झौता अनुसार वडा न.९ जगडोल स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क निर्माण गरिनेछ । बुढानिलकण्ठ नगरको वडा नं.८ हात्तीगौडामा बुढानीलकण्ठ पार्क निर्माण गर्ने नगरको योजना छ ।
तारकेश्वर नगरपालिकाले वडा नं.३ धाम क्षेत्रमा तारकेश्वर धाम निर्माण गर्नेछ । नागार्जुन नगरपालिकाले वडा नं.६ डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण गर्नेछ ।
त्यसैगरी चन्द्रागिरी नगरले वडा न. १३, कंकाली मन्दिर परिभ्रमण क्षेत्रमा पर्या–पर्यटन एवम ऐतिहासिक साँस्कृतिक पर्यटन क्षेत्र तयार पार्नेछ भने नागार्जुन नगरपालिकाले पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक बन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्ला भित्र करिब १७ रोपनी सार्वजनिक जग्गामा पार्क बनाउने छ ।
दक्षिणकाली नगरपालिकाले गोरखनाथ मन्दिरबाट करिब ३०० मिटर माथिसम्म परम्परागत सिँढी, गोलाई आकारको अवलोकन स्तम्भ, बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, प्राचीन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी र सम्पूर्ण क्षेत्रमा पर्खालसहितको संरचनाको निर्माण गर्नेछ ।
सो कार्यक्रममा संघीय संसद सदस्यकृष्ण गोपाल श्रेष्ठ, उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसे लगायतले मन्तव्य दिएका थिए ।
Categorized in समाज