काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरूले समानुपातिकतर्फका सांसद छनोट तथा निर्वाचन समीक्षा गर्न बैठक बोलाएका छन ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि पहिलोपटक कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गर्न बैठक बोलाइएको हो ।
बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कांग्रेसले चैतको पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको जनाएको छ ।
यस्तै, नेकपा एमालेले पनि निर्वाचनको समीक्षा तथा समानुपातिक सांसदको नाम टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्ने तयारी गरिएको छ ।
उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूको नाम टुंगो लगाउनुका साथै निर्वाचनको समग्र समीक्षा गर्ने एजेन्डा रहेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भने एक दिन पछि सारिएको छ । शनिबारका लागि तय गरिएको बैठक अब आइतबार बिहान १० बजे बस्नेछ ।
पार्टी प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक आइतबार बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने तय गरिएको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस गर्ने एजेन्डा रहने बताइएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेकाले दलहरूले आन्तरिक छलफल तीव्र पारेका छन ।
Categorized in राष्ट्रिय