२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

समानुपातिक उम्मेदवार सुचिमा ५० प्रतिशत महिला अनिवार्य


प्रकाशित: विहिवार, १८ मंसिर २०८२, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ दलहरूले कम्तीमा ५० प्रतिशत महिला अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था लागू हुनेछ ।


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ अनुसार दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कूल सूचीको आधाभन्दा कम महिलाको नाम राख्न नपाउने प्रावधान छ ।

 
संविधानले अपनाएको समानुपातिक समावेशीतत्वलाई कार्यान्वयन गर्न यो व्यवस्थालाई महत्त्वपूर्ण आधार मानिएको छ ।


यसअघि संविधानसभा सदस्य रेणु चन्द, बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले निर्वाचन आयोगलाई भेटेर समानुपातिकतर्फ कम्तीमा ५० प्रतिशत महिला सुनिश्चित गर्न माग गर्दै कानुन संशोधन आवश्यक भएको तर्क गरेका थिए ।


निर्वाचन आयोगले मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक प्रणालीमा भाग लिन इच्छुक दलहरूबाट निवेदन दर्ता लिनेछ । दर्ता निवेदनको अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने तालिका छ ।


दलहरूले तयार गर्ने बन्दसूचीमा भूगोल, प्रादेशिक सन्तुलन तथा समावेशी सिद्धान्त अनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायका प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ । 


साथै पिछडिएको क्षेत्रका नागरिक तथा अपांगता भएका व्यक्तिको सहभागिता अनिवार्य हुने व्यवस्था छ ।


बन्दसूची पुस १३ र १४ मा पेश गर्नुपर्ने


दलहरूले तोकिएको ढाँचामा छुट्टाछुट्टै समावेशी आधार उल्लेख गर्दै बन्दसूची पुस १३ र १४ गते आयोगमा पेश गर्नुपर्नेछ । उम्मेदवारहरूले सम्बन्धित दलबाट प्रस्तावित भएको मञ्जुरीनामा समेत अनिवार्य रूपमा बुझाउनुपर्छ ।


सूची प्राप्त भएपछि आयोगले कानुनअनुसार तयार भएकोरनभएको सात दिनभित्र यकिन गर्नेछ । त्रुटि भेटिएमा सच्याउन दललाई सात दिनको समय दिने प्रावधान छ ।


यदि बन्दसूची पेश भइसकेको तर निर्वाचन सम्पन्न नभएको अवस्थामा कुनै उम्मेदवारको मृत्यु भएमा सोही समावेशी आधारमा अर्को उम्मेदवार मनोनयन गर्न सकिनेछ ।


दाबी–विरोधको प्रक्रिया


दफा २९ अनुसार प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता संविधान वा ऐनबमोजिम नभएको भनी कुनै मतदाताले सात दिनभित्र दाबी–विरोध दर्ता गर्न सक्नेछन्। आयोगले उजुरीको छानबिन गरी योग्यता नपुगेका उम्मेदवारको नाम हटाउनेछ ।


आयोगको कार्यक्रमअनुसार समानुपातिकतर्फको प्रारम्भिक सूची माघ ४ गते सार्वजनिक हुनेछ। दाबी–विरोधको छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशित गरिनेछ ।


प्रतिनिधिसभामा दुई प्रणालीबाट सदस्य चयन


विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ मध्ये १६५ सदस्य प्रत्यक्षतर्फ र ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन । 


प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन माघ ६ गते हुने तालिका आयोगले तय गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex