काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता वितरणमा कठिनाई उत्पन्न भएका बताएका छन ।
भत्ता लिने व्यक्तिलाई व्यक्तिलाई बैङ्किङ् कारोबार थाहा नहुँदा सरकारले दिएको रकम लिन कठिन भएका जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।
काठमाडौं महानगरका प्रबक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले निर्देशिका खुकुलो बनाउनु पर्ने सुझाव दिँदै उनले भने,‘ बैङ्किङ् कारोबार नजानेका, सिक्नका लागि पनि भेउ नपाउने उमेरका पाका मानिसले पैसा लिन बैङ्क खाता खोल्नु व्यवहारिक नभएको पाका मानिसहरुको भनाई छ ।’
प्रवक्त डंगोलले सक्नेलाई बैङ्कमा नै पठाऔं । तर नसक्नेलाई सम्बन्धितकै हातमा पैसा पर्ने गरी दिने गरी नियमावली सुधारिनु पर्ने बताए ।
त्यसैगरी महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले भत्ता पाउनु पर्ने व्यक्तिले नपाउने वा ढिला गरी पाउने समस्यालाई नीतिगत र व्यवहारिक रुपमै समाधान गर्नुपर्ने बताए ।
सोमबार राजधानीमा शुरु भएको सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरु, प्रशासन प्रमुख लगायतका व्यक्तिहरुले आ–आफ्ना भनाई राखेका छन ।
यसै क्रममा प्रशासन बिभागका प्रमुख नमराज ढकाल, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागका निर्देशक जनकराज भट्टले पनि समाजिक सुरक्षा भत्ता वितरणमा आवश्यक सुधार आवश्यक रहेको बताए ।
महानगरबाट बार्षिक (सामाजिक सुरक्षा भत्ता) करीब १ अर्व रुपैयाँ बराबरको कारोबार हुन्छ ।
२ दिने अभिमुखीकरणको पहिलो दिन वडा १ देखि १६ सम्मका वडाध्यक्ष, वडासचिव र वडाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि खाता खोलिएका बैङ्कका प्रतिनिधिको सहभागिता थियो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न जेष्ठ नागरिकको हकमा ९महिला÷ पुरुष दुवै० ७० बर्ष उमेर पूरा गर्नुपर्छ । उनीहरुले भत्तावापत २ हजार रुपैयाँ र उपचार खर्च वापत् १ हजार रुपैयाँ प्रतिमहिना प्राप्त गर्छन ।
दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन । बिधवाको हकमा भने उमेर सम्बन्धि शर्त लागु हुँदैन ।
महानगरले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा करीब ३२ करोड रुपैयाँ वितरण गरेको छ । काठमाडौं महानगर क्षेत्रभित्र करीब ३० हजार व्यक्ति सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य रहेका छन ।
Categorized in समाज