काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले सबै नेपालीको हितग्राही खाता (डिम्याट) खोल्ने तयारी गरेको छ ।
पूर्ण स्वचालित कारोवार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा मंगलवार स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुई वटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटा मात्रै खातामा आबद्ध हुन आग्रह गरेको छ ।
कारोवारको द्रुतगति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्न त्यस्तो व्यवस्था गरिएको स्टकले जनाएको छ ।
स्टकले मंगलवारदेखि नै बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको छ । तोकिएको राफसाफ बैंकमार्फत कारोवार अघि तथा पछिको रकमान्तर मिलाउने व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास भएको स्टकको भनाइ छ ।
तोकिएका राफसाफ बैंकमा धितोपत्र कारोवार प्रयोजनका लागि मात्रै बैंक खाता खोल्न आग्रह गरिएको छ । आगामी दिनमा ‘क’ वर्गका सबै बैंकलाई धितोपत्र कारोवारको राफसाफ हुने गरी व्यवस्था गर्न लागिएको समेत जानकारी दिइएको छ ।
स्टकले अनलाइन कारोवार पहुँचका लागि लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीसँग अनिवार्यरुपमा सम्झौता गर्नैपर्ने, त्यस्तो सम्झौताले लगानीकर्ता र व्यवसायीबीच वित्तीय सुरक्षा सुनिश्चितता गराउने बताइएको छ । लगानीकर्ताले कारोवारका लागि युजरनेम र पासवर्ड लिनसमेत पुनःआग्रह गरिएको छ ।
लगानीकर्ताले आफ्नो लगानी सीमाअनुसार रकम जम्मा गरेपछि कारोवार गर्न पाउने व्यवस्था गरिएको स्टकका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
Categorized in बजार