काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन ।
मन्त्री खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन ।
भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले तीनवटै दलका शीर्ष नेताहरू निर्वाचनको विरोधी नरहेको स्पष्ट भएको बताए ।
“खासगरी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउने सन्दर्भमा तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिएको हो,” उनले भने ।
मन्त्री खरेलका अनुसार नेपाली कांग्रेसका सभापति देउवाले कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेका छन ।
“निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । निर्वाचन सम्पन्न गर्नका लागि कांग्रेसको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ,” खरेलले भने ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा सुरक्षा चुनौतीबारे चासो व्यक्त गरेको मन्त्री खरेलले जानकारी दिए ।
“निर्भयताका साथ मतदाता र राजनीतिक दलहरू चुनावमा सहभागी हुन सक्ने वातावरण अझै सुदृढ बनाउन सरकारको थप मिहिनेत आवश्यक छ भन्ने उहाँहरूको धारणा छ,” उनले भने ।
एमाले लोकतन्त्र र जनमतमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै ताजा जनादेश लिएर अघि बढ्नुपर्नेमा कुनै द्विविधा नरहेको पनि खरेलले बताए ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको कुनै विकल्प नभएकाले तोकिएकै मितिमा चुनाव हुनुपर्ने स्पष्ट धारणा राखेको मन्त्री खरेलले बताए ।
“फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट अडानसहित सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ,” उनले भने ।
मन्त्री खरेलले सरकारको तर्फबाट निर्वाचनका लागि आवश्यक सुरक्षा र अनुकूल वातावरण बनाउने प्रतिबद्धता तीनवटै दलका नेताहरूसामु राखिएको पनि जानकारी दिए ।
Categorized in राष्ट्रिय