काठमाडौँ । काठमाडौं महानगर क्षेत्रका सडक, रुख, पोल लगयातमा सजावटको नाममा राखिएको रात्री बत्तिको असरबारे महानगरको अनुगमन समितिमा चर्चा चलेको छ ।
मंगलवार महानगर उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकमा सो बारे छलफल भएपछि यस विषयमा सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।
रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ, रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरुले रुखलाई पर्ने असर बारे अध्ययन हुनुु पर्ने छलफल चलेको थियो ।
सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको हो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सडक किनारामा राखिएका बत्तीको प्रकाशले गाडी चलाउन निकै कठिन भएको बताएका छन ।
उनले कुन ठाउँमा कस्तो खालको विजुली आवश्यक पर्ने हो, यसको मापदण्ड आवश्यक रहेको उल्लेख गरे ।
अनुगमन समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले मापदण्ड बनाएर नियमन गर्नुपर्ने सुुझाव दिएका छन ।
पछिल्लो समय स्थानीयस्तरमै यस किसिमको बत्तिले पर्यावरणमा असर पर्ने भन्ने बारे रात्रीकालिन सजावट वत्ति हटाउने पर्ने माग उठ्दै आएको छ ।
Categorized in स्वास्थ्य