यो युनेस्कोले सन् १९९० मा संत पीटर्सबर्गलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा दिएको शब्दावली हो । केहीले उत्तरको भेनिस भनेर पनि यसलाई भन्दछन् । रूसी जार पीटर महान्ले सन् १९०३ देखि सुरु गरेको आधुनिक शहर बसाउने योजनामा नै यो ऐतिहासिक केन्द्र बनेको हो । प्रथम विश्वयुद्धको समयमा यो जर्मनी लवजसँग मिल्ने बर्ग भन्ने लवज हटाउन यस शहरको नाम पेट्रोग्राड भनेर राखियो । बोल्शेभिक क्रान्तिपछि यो लेनिनग्राड बन्यो र राजधानी चाहिँ मस्को स¥यो । सोभियत संघको विघटन पछि यसलाई फेरि सन् १९९१ मा संत पीटर्सबर्ग भन्ने नाम नै पुनस्र्थापना गरियो । सन् १७१३ देखि सन् १७१८ सम्म र सन् १७३२ देखि १९१८ सम्म यो यो साम्राज्यवादी रूसको राजधानी शहर रह्यो ।
युरोपका अरू शहरहरूको दाँजोमा जानका लागि नै जारले यो नवशास्त्रीय भवनहरू भएको शहर बनाउन लगाएका थिए । शहर निर्माणको समयमा आवश्यक सामग्री र समय पनि कम नै थियो । तर कठिनाइका बेला आँटेको काममा पूरै जोश र जाँगर लाग्दा जसरी पूर्ण हुन्छ, त्यसै गरी यो शहरको निर्माण पूर्ण भयो । नवशास्त्रीय कलात्मक भवनहरूका साथै युरोपकै दास्रो ठूलो कला संग्राहलय– राजकीय कुटी संग्राहलय ( स्टेज हर्मिटेज म्युजियम), शिशिर प्रासाद ( विन्टर प्यालेस), संत माइकल किल्ला, क्रोनस्टाड क्याथाड्रल, फोन्ताका खोलाका साथ सयौँ नहर, जलशक्ति नै प्रयोग गरेर बनाइएका पानीका फोहरा, ४०० भन्दा बढी पुलहरूका कारण संत पीटर्सबर्ग साँस्कृतिक शहरका रूपमा विश्वभर प्रसिद्ध छ । यो १८औँ शताब्दीको महानतम् शहरी सिर्जना हो ।
सन् १६११ मा स्विडनका उपनिवेशवादीहरूले यो क्षेत्रमा आफ्नो कब्जा जमाए पछि नियनशान्तस् भन्ने किल्ला बनाए । यो नै सन्त पीटर्सबर्गको निर्माणको पहिलो खुड्किला हो । १८औँ शताब्दीको सुरुवातमा जार पीटर महान् युरोपसँग व्यापार बढाउनका लागि राम्रो बन्दरगाह चाहन्थे । त्यसबेला रहेको अर्खानगेल्स बन्दरगाह पूरै उत्तरमा थियो र जाडोको समय बन्द हुन्थ्यो । सन् १७०३ को महान् उत्तरी युद्धमा उनले नियनशान्तस् जित्यो । उसले त्यसको सट्टामा आफ्नै किला पनि बनाए । त्यसपछि उनकै योजना अनुसार पीटर्सबर्ग शहर बनाइयो । यो शहर बनाउनका लागि रूसभरिबाट बाँधा किसानहरू ल्याइए । युद्धबन्दी स्विडेनबासीहरूलाई पनि श्रममा लगाइयो । यसमा कति बाँधा किसानहरू त मरे ।
सन्त पीटर्सबर्ग इतिहासका कयौँ घटनाहरूको साक्षी बन्यो । सन् १८२५ को डिसेम्बर विद्रोह, सन् १९०५ को क्रान्ति, सन् १९१७ मा फेब्रुअरी विद्रोह र अक्टोबर क्रान्ति अनि दोस्रो विश्वयुद्धमा जर्मनहरूको कब्जा ।
भौगोलिक रूपमा भन्ने हो भने संत पीटर्सबर्ग टाइगा होचो भूमिमा पर्दछ । फिनल्यान्डको ठूलो खाडीको एक भाग रहेको नेभा खाडी क्षेत्रमा यो पर्दछ । यहाँ नेभा नदी बग्दछ ।
सन् १९९१ मा युनेस्कोले सन्त पीटर्सबर्गलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा यहाँका ३६ ऐतिहासिक भवन परिसरहरू र ४००० स्मारकहरूलाई छानेको छ । अहिले सन्त पीटर्सबर्गमा २२१ संग्राहलय, २००० पुस्तकालय, ८० भन्दा बढी नाचघरहरू, ४५ आर्ट ग्यालरी र प्रदर्शनी स्थल ६२ सिनेमाघर, ८० साँस्कृतिक संस्थाहरू रहेका छन् । यहाँ वर्षदिनमा १०० भन्दा बढी जात्रा, पर्व, मेला हुने गरेको छ, जसमा ५० जतिमा अन्तर्राष्ट्रिय स्तरका रहने गरेका छन् ।
संत पीटर्सबर्गमा रहेका संग्राहलयहरूमा सबभन्दा ठूलो संग्राहलय स्टेट हर्मिटेज म्युजियम नै हो । फ्रान्सको लुभ्र म्युजियम पछि संसारमा दोस्रो ठूलो कला संग्राहलयमा यो स्टेट हर्मिटेज म्युजियमकै नाम आउँछ । सन् १७६४ मा सम्राज्ञी क्याथरिन महान्ले बर्लिनको एक व्यापारीबाट भारी मात्रामा चित्रकला लगायतका सामग्रीहरू प्राप्त गरेपछि यो संग्राहलय खोलिएको हो । सन् १८५२ देखि यो सर्वसाधारणका लागि खुला गरिएको हो । यहाँ ३० लाख भन्दा बढी आइटमहरू संग्रहित रहेका छन्, यसमध्ये एक तिहाई मुद्राहरूको संग्रह रहेको छ । यहाँ विश्वकै सबभन्दा बढी चित्रकलाको संग्रह रहेको छ ।
शिशिर प्रासाद वा विन्टर प्यालेस रूसी साम्राज्यका सम्राट वा जारहरूको दरबार हो । आजकल यसको एक भाग पुनर्निर्माण गरेर हर्मिटेज म्युजियममै गाभिएको छ । यसलाई त्यो बेला लगातारै जस्तो बढाउने र परिवर्तन गर्ने कार्य गरियो । यसमा नराम्ररी आगलागी समेत भयो र तत्कालै पुनस्र्थापना गरियो । सन् १९१७ मा अक्टोबर क्रान्ति हुँदा यहाँ अस्थायी सरकार बसेको थियो । बोल्शेभिकरूले यहाँ धावा बोलेको इतिहास सोभियत क्रान्तिको प्रतीक चिन्ह नै बन्यो ।
रसियन अर्थडक्स इसाई धर्म मान्ने रूसको यस शहरमा रक्तमा रहेका मुक्तिदाताको क्याथड्रल (क्याथड्रल अफ द सेभियर अन द ब्लड) सन्त आइज्याकस् क्याथड्रल पनि विलक्षण भवन कलाका लागि प्रसिद्ध छ । स्विडनसँगको युद्धमा विजय हासिल गरे पछि पीटर महान्ले बनाएको पीटर एण्ड पल किला पनि उत्तिकै दर्शनीय छ ।
Categorized in सम्पदा/संस्कृति