काठमाडौं । नारायणगोपालका समकालीनका रूपमा परिचित प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ ।
पुस ३ गते राति १० बजे उनको निधन भएको छोरा राजेश्वरमान श्रेष्ठले जानकारी दिएका छन ।
वि.सं. १९९१ जेठ २३ गते काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइँलाका छोरा हुन ।
नेपाली आधुनिक संगीत, भजन तथा नेपाल भाषाका गीत–संगीत क्षेत्रमा उनी स्थापित र सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए । श्रेष्ठ नारायणगोपालका पारिवारिक मित्रसमेत थिए ।
वि.सं. २०१७ सालदेखि औपचारिक रूपमा संगीत तथा भजन सिर्जनाको यात्रा सुरु गरेका श्रेष्ठका रेडियो नेपालमा मात्र करिब ३५० वटा भजन रेकर्ड छन ।
यसका अतिरिक्त उनले केही राष्ट्रिय गीत तथा लोकगीतहरूमा पनि संगीत तथा स्वर दिएका छन ।
नातिकाजीदेखि योगेश वैद्यसम्म तथा तारादेवीदेखि कमला श्रेष्ठसम्मका चर्चित कलाकारसँग सहकार्य गरेका श्रेष्ठको निधनले नेपाली संगीत क्षेत्रमा अपुरणीय क्षति पुगेको संगीतकर्मीहरूले बताएका छन ।
स्वर्गीय श्रेष्ठका परिवारमा दुई छोरा र एक छोरी रहेका छन ।
Categorized in समाज