१३ बैशाख २०८१, बिहिबार
Header

संक्रमण फैलन नदिन उपत्यका नगरपालिका फोरमको ११ बुँदे माग


प्रकाशित: मंगलवार, २७ श्रावण २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिन नदिन संघीय सरकारसँग ११ बुँदे माग गरेको छ । 


सोमवार राजधानीमा फोरमले एक पत्रकार सम्मेलन गरेर उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गरेको छ  । 


फोरमको बैठकले पत्रकार सम्मेलनमा फोरमका सचिव एंव मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले निर्णयहरु सुनाउँदै भने, ‘उपत्यका मूलुकको राजधानी समेत भएकोले अत्यन्त घनावस्ती युक्त क्षेत्र रहेको हुँदा कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ त्यस्ता प्रस्थान विन्दूबाट अबैध रुपमा÷अनाधिकृत रुपमा समेत मानिसहरु प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पुर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,’।


बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,’ ‘तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्नु उपयुक्त हुने भएकाले संघीय सरकारसँग माग गरेका छौँ ।’ 


त्यसैगरी बैठकले उपत्यकामा समूदाय स्तरमा कोभिड—१९ को संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन पनि बैठकले अनुरोध गरेको छ ।


‘कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम विकल्प पीसीआर परीक्षण रहेको तथ्य प्रष्ट छ तर पीसीआर परीक्षणको आर्थिक भार र सोको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने गरेका कारण परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने भन्दा संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा विस्तार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको परिचालन र सेवा विस्तारमा ध्यान दिनु आवश्यक देखिएकोले सो तर्फ प्राथमिकता दिई कार्य गर्न माग गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । 


बैठकपछि सम्वोधन गर्दै उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुरुमा उपत्यका सिल गर्दा लामो समय यहाँका ४० लाख बढी नागरिकले लकडाउनको पूर्ण पालना गरेको स्मरण गराउँदै अहिले केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदा शान्त तलाउमा ढुंगा हानेजस्ता भएको र थप भयावह हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै नकामा कडाई गर्नुको अर्को विकल्प नभएको बताए । 


उहाँले सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने उनको भनाई छ । उहाँले उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो  । मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृत्तिले संक्रमणको अहिलेको स्थिति देखा परेको पनि स्मरण गराउनु भयो । ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनै पनि संक्रमण देखिने थिएन, ‘उहाँले भन्नुभयो । 


फोरमको बैठकमा सहभागी प्रधानमन्त्री कार्यालय एवं (सीसीएमसी)का सचिव महेन्द्र प्रसाद गुरागाईले पनि फोरमका माग सकारात्मक रहेको भन्दै सीसीएमसी बैठकमा गम्भीरताका साथ उठेको वताए । 


काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संक्रमणको जोखिम बढ्नुमा हामी सबैको कमजोरी रहेको भन्दै अनिवार्य मास्क लगाउने, सावुन–पानीले हात धुने र सामाजिक दुरी कायम गर्ने बानी बसाल्न हो भने धेरै हदसम्म नियन्त्रण हुने बताए । 


स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले वडा अनुगमन टोली बनाएर संक्रमित व्यक्तिको घर–घरसम्म पुगेर पहिचान गर्ने व्यवस्था पालिकाहरुले गर्नुपर्ने सुझाव दिएका थिए । 

 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD