काठमाडौं । श्रीघः विहारमा हारतीमा (अजिमा द्यः)को देवता घरको पुननिर्माण सुरु गरिएको छ ।
मंगलवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले हारतीमा पुननिर्माणको शिलान्यास गरे । काठमाडौँ महानगरपालिका वडा नं. २५ श्रीघ विहार, शान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा सो देवता घर रहेको छ ।
पुननिर्माणका लागि महानगरले १ करोड रुपैयाँ उपलब्ध गराउनेछ । यसमा शान्तिघट बज्रधातु चैत्य महाविहार संरक्षण समितिले उपभोक्ताकातर्फबाट ५ प्रतिशत रकम थप गरेर पुननिर्माण गर्नेछ ।
सो अवसरमा प्रमुख शाक्यले, काठमाडौँको इतिहासलाई जीवन्त बनाइराख्न प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुननिर्माणलाई नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताए ।
‘मन्दिरका काठहरु मक्काएका थिए । पर्खाल कमजोर भएको थियो । त्यसैले परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पूर्ववत स्वरुप र शैली हुने गरी उपभोक्ता, गुठीयार र पुजारीहरुसँगको सहकार्यमा पुननिर्माण थालेका हौँ ।’ प्रमुख शाक्यले भने ।
समितिका पदाधिकारीकाअनुसार मन्दिर करीब ३ सय बर्ष पुरानो हो । यसको पुननिर्माण आजभन्दा करीव १ सय ५६ बर्ष अघि एक पटक भएको अभिलेख पाइन्छ । १९९० सालको भूकम्पको धक्का व्यहारेको मन्दिरलाई २०७२ सालको भूकम्पले कमजोर बनाएको थियो ।
शिलान्यास अवसरमा वडा २५ का अध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्य, कार्यपालिका सदस्य रमिताकमल स्थापितसहित जनप्रतिनिधि र संरक्षण समितिका पदाधिकारी सहभागी थिए ।
Categorized in सम्पदा/संस्कृति