काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि साहदत प्राप्त चार सहिद मध्ये शुक्रराज शास्त्रीको शालिकमा काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पुष्पगुच्छा अर्पण गरी सहिद सप्ताह सुरु गरिएको छ ।
सोमवार (माघ १०) बढ्दो कोभिड संक्रमणरलाई ध्यानमा राख्दै काठमाडौं महानगरले सिमित संख्यामा उपस्थिती गराई औपचारिक रुपमा सहिद सप्ताह सुरु गरेको महानगर प्रमुख एंव सहिद सप्ताह मुल समारोह समितिका संयोजक शाक्यले जानकारी दिए ।
सो अवसरमा महानगरी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित उपस्थित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका थिए । मचलीमा वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।
वि. सं. १९५० सालमा बनासरमा जन्मिएका शास्त्रीले धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन सुरु गरेका थिए । १९९४ मंसिर १३ गते इन्द्रचोकमा भेला भएका मानिसहरुविच गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा फाँसीको सजाय दिएका थिए ।
१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरिएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।
महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिकहरु सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो ।
सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ ।
माघ १६ गते विहान ९ बजे लैनचौरको सहिद स्मारक ज्ञात अज्ञात सहिदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना हुनेछ । सम्मान गारदका लागि नेपाली सेनाको सानो टुकडी मात्र हुनेछ । त्यसै दिन मध्यान्न १२ बजे टुँडिखेलमा तोपको सलामी अर्पण गरिनेछ ।
तस्वीरः चन्द्रमणी भट्टराई
Categorized in सम्पदा/संस्कृति