काठमाडौं । काठमाडौं महानगरपालिकाले महाशिवरात्री पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन साझेदार निकायका प्रमुख तथा अधिकारीहरूसँग समन्वय बैठक आयोजना गरेको छ ।
बैठकमा महानगरका स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी.ले स्वास्थ्य शिविर तथा आकस्मिक उपचार व्यवस्थाबारे जानकारी दिएका थिए भने वातावरण विभाग प्रमुख सरिता राईले सरसफाइ तथा स्वच्छता योजना प्रस्तुत गरेकी थिइन ।
सूचना प्रविधि विभागले पशुपति क्षेत्रका संवेदनशील स्थानमा सीसीटिभी क्यामरा जडान गर्ने योजना सार्वजनिक गरेको छ । महानगर प्रहरी बलले पार्किङ तथा पैदल मार्ग व्यवस्थापनको तयारी गरेको जनाएको छ ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर लगायत भीड हुने शिव मन्दिरहरूमा आवश्यक जनशक्ति, स्रोत र उपकरण परिचालन गरिसकिएको छ ।
सरसफाइका लागि ब्रुमर सञ्चालन र पानी छर्किने काम सुरु भइसकेको छ। यस वर्ष पशुपति क्षेत्रमा दमकल र एम्बुलेन्स तैनाथ गरिने तथा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा राखिने उनले जानकारी दिइन ।
महानगरभित्र रहेका सबै शिव मन्दिरमा समान ध्यान दिइने उल्लेख गर्दै डंगोलले वडा नं. ८ का अध्यक्ष आशामान संगतको संयोजनमा व्यवस्थापन गरिने बताइन । स्थानीयवासीको भूमिकालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिइन ।
सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले पर्व व्यवस्थापनमा स्थानीयको भूमिका सशक्त बनाउनुपर्ने धारणा राखे ।
उनले चावहिल क्षेत्रदेखि वैकल्पिक मार्ग व्यवस्थापन गरी सडक बन्द गरेर उत्सवमय वातावरण सिर्जना गर्नुपर्ने प्रस्तावसमेत राखेका थिए, जसमा वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले समर्थन जनाए ।
सुरक्षा निकायले पर्वलाई पूर्ण सुरक्षित बनाउन एकीकृत सुरक्षा योजना बनाइएको बताएका छन्। निर्वाचन सुरक्षाका कारण यस वर्ष जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण हुने उल्लेख गरिएको छ ।
पशुपति क्षेत्र विकास कोष का अनुसार यस वर्ष पशुपति क्षेत्रमा करिब ८ लाख श्रद्धालुले प्रत्यक्ष दर्शन गर्ने र मन्दिर परिसरमा झन्डै २० लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ ।
महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रसँगै बसन्तपुरस्थित मखन महादेव, वडा नं. ३२ को कोटेश्वर महादेवलगायत विभिन्न शिव मन्दिरहरूमा पनि ठूलो भीड हुने अपेक्षा गरिएको छ ।
Categorized in समाज