काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन ।
उनका अनुसार उक्त निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ ।
साथै, शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले विभिन्न सहुलियतपूर्ण वैदेशिक ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
“डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट” का लागि एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।
त्यस्तै, “दिगो र समावेशी वित्त परियोजना” का लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ भने राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरिएको छ ।
यसका साथै डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।
Categorized in राष्ट्रिय