२९ मङ्सिर २०८२, सोमबार
Nepal Bank AD 2082 mansir

शनिबारीय सडक फुड स्टल हाँडीगाउँ सडक महोत्सवमा रूपान्तरण


प्रकाशित: शुक्रवार, १३ भाद्र २०८२, १२ः०२ बजे
- महानगरखबर

काठमाडौं । शनिबारीय हाँडीगाउँ सडक फुड स्टल अहिले क्रमशः हाँडीगाउँ सडक महोत्सवमा रूपान्तरण हुँदै गएको छ ।


करिब दुई वर्षअघि इन्द्रजात्राको अवसर पारेर सुरु गरिएको यो फुड स्टलले स्थानीय खानाका परिकार, संस्कृति, जात्रा र ऐतिहासिक सम्पदाको प्रवद्र्धनलाई प्राथमिकता दिएको थियो ।

 
हरेक शनिबार दिउँसो २ बजेदेखि राति ८ बजेसम्म हाँडीगाउँ कृष्ण मन्दिरदेखि कोटालटोल ९भमरकुँ०सम्म सवारी आवतजावत रोक्दै सञ्चालन हुने यो फुड स्टल अहिले स्थानीय र पर्यटकबीच लोकप्रिय बन्दै गएको छ ।


इतिहास र उद्देश्य


काठमाडौँ महानगरपालिका वडा नं. ५ को प्रत्यक्ष संलग्नतामा गठित नरः दे जीवन्त हाँडीगाउँ समितिले व्यवस्थापन गर्दै आएको फुड स्टललाई महोत्सवका रूपमा विस्तार गरिएको समितिका अध्यक्ष गोपाल डंगोल बताउनुहुन्छ । 


उहाँका अनुसार, “विभिन्न देशमा ‘कार–फ्री डे’ मनाउने चलनबाट प्रेरित भई वातावरणीय प्रदूषण घटाउने, बालबालिकालाई खुला ठाउँमा खेल्न दिने र स्थानीय कला–संस्कृति प्रदर्शन गर्ने उद्देश्यले हामीले यसलाई सुरु गरेका हौँ ।”


संस्कृति र पर्यटक आकर्षण


हाडीगाउँको शनिबारीय सडक फुड स्टलले केवल खानाका परिकार मात्र होइन, स्थानीय मौलिक संस्कृति, चर्या नृत्य, बाजागाजा, जात्रा पर्व समेत प्रस्तुत गर्दै आएको छ । 


हरेक शनिबार १००–१५० बाह्य पर्यटकसँगै उल्लेख्य आन्तरिक पर्यटक पनि यहाँ आउने गरेको अध्यक्ष डंगोलले जानकारी दिनुभयो । 


आर्थिक पक्ष


स्थानीय महिलादेखि व्यवसायी समूहसम्मका लागि यो फुड स्टल आर्थिक अवसरको स्रोत पनि बनेको छ ।


नरः भिंन्तुना पुचः का संयोजक रमा महर्जनले ४०–५० हजारसम्मको व्यापार हुने बताउनुभयो । 


‘जय अजिमा नेवारी खाजा घर’ का कृष्णमाया प्रजापतिको अनुसार बाहिरको स्टलले ४० हजारसम्म बिक्री गर्छ । दिदीबहिनी समूहले २५–३० हजारसम्म व्यापार हुने जनाएको छ ।


कतिपय व्यापारी भने हालको भिडघटसँगै व्यापार घटेको गुनासो पनि गर्दै आएका छन । 


समितिले पछिल्ला ५–६ महिनादेखि स्टल सञ्चालन शुल्क पनि व्यवस्थापनमा प्रयोग गर्दै आएको छ । 


बढी व्यापार हुने स्टलबाट ५०० रुपैयाँ र कम हुने स्टलबाट ३०० रुपैयाँसम्म शुल्क उठाइन्छ । उठेको रकम सुरक्षा, कलाकार, स्वयंसेवक र फोहोर व्यवस्थापनमा खर्च गरिन्छ ।


चुनौती र सुझाव


व्यापारी तथा पर्यटकहरूले मोबाइल शौचालयको अभाव, सबै व्यापारीलाई मौलिक परिकार पस्कनुपर्ने आवश्यकता, स्थानीय पोशाकको प्रयोग, सवारी साधन पूर्ण निषेध, र सडकलाई ढुङ्गा वा मौलिक इँटा बिछ्याउनेजस्ता सुझाव दिएका छन । 


समयबजी, चटामरी, यस्मरी, छोयला, कचिला, न्याखोना, जला, सःपूम्हि लगायतका परिकारको स्वाद चख्न र हाँडीगाउँको ऐतिहासिक संस्कृति अवलोकन गर्न आउने पर्यटकहरूको भीडले शनिबारीय सडक फुड स्टलले आफ्नो मौलिक पहिचान स्थापित गरिसकेको छ । 


स्थानीय महिला र समुदायको आर्थिक सबलीकरणसँगै सांस्कृतिक संरक्षणमा यो महोत्सवले महत्वपूर्ण योगदान दिइरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex
Naya bachat suchna 2082