काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले शंखधर पार्क (रत्नपार्क) लाई मनोरन्जन मात्र नभई अध्ययनको लागि उपयुक्त स्थान बनाउने बताएका छन ।
प्रमुख शाक्यले बुधवार एक कार्यक्रम विच पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको पोशाकमा कुममाथिको भाग अनावरण गर्दै सो कुरा बताएका हुन ।
गागरिनको ८५ औं बार्षिकोत्सवको अवसरमा प्रमुख बिद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्त रुपमा प्रतिभा अनावरण गरेका थिए ।
सो अवसरमा प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तरराष्ट्रिय सम्बन्धमा चर्चा गरेका थिए । गागरिनले २७ बर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ बर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा शशक्तिकरणको उदाहरण भएको प्रमुख शाक्यको भनाई थियो ।
कार्यक्रमा अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत बिकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने बिश्वाश व्यक्त गर्नुभयो । उहाँले नेपाल र रसियाको कुटनीतिक सम्बन्धबाट दुवै देशले लाभ लिन सक्ने बताएका थिए ।
नेपालका लागि रसियाका कार्यवाहक राजदूत युरी युझाननोभले, काठमाडौं महानगरसँग साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसैगरी रसियन कल्चर सेन्टर फर साइन्स एण्ड कल्चरका निर्देशक युलिया एन्ड्रोशोभाले आपसी सम्बन्ध बिस्तारमा सेन्टरले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
महानगरकी आर्किटेक्ट प्रमिला पराजुलीले निर्माण गरेकी सो सतम्भको साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घरेको पृथ्वी र त्यसको छेउमा ठड््याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ ।
बाहिरी डाँछी अपा इटाले नेपालीपन प्रदान गरिएको यो शैली बनाइएको छ । यसलाई सुन्दरता प्रदान गर्न स्तम्भ र अक्ष अगाडि सानो ठाउँमा गमला र फूल राखिएको छ ।
यो संरचना तयार पार्न करीब ३ लाख १५ हजार रुपैयाँ लागेको आर्किटेक्ट पराजुलीले सो अवसरमा जानकारी दिए । यसमा राखिएको मूर्ति भने रसियन कल्चर सेन्टरबाट उपहारस्वरुप प्राप्त भएको हो ।
पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे ।
Categorized in समाज