काठमाडौं । व्यावसायीहरूले खाना पकाउने एलपी ग्यास ठप्प पार्ने चेतावनी दिएका छन् ।
भारतमा निर्माण भइसकेका बुलेट सञ्चालनमा ल्याउन सरकारले पहल नगरेको भन्दै दवावस्वरुप आगामी दशैं तिहारमा ग्यास ढुवानी ठप्प पार्ने चेतावनीे दिएका हुन् ।
ग्यास व्यवसायी संघद्धारा जारी विज्ञप्तीमा नेपालीको महान पर्व दशैं, तिहार, छठ तथा प्रदेश र संघको चुनाव समेत नजिकिँदै जाँदा पनि बाध्यात्मक परिस्थितिका कारण ग्यासको आपूर्तिमा अवरोध सृजना हुनसक्ने उल्लेख गरिएको छ ।
संघको २२ औं साधारणसभाले बुलेट सञ्चालनको वातावरण बनाउन सरकारलाई १५ दिनको अल्टिमेटमसमेत दिएको छ ।
सरकारले ०७३ असार २७ गते ७ सय ७५ वटा नेपाली नम्बरप्लेटका ग्यास बुलेट सञ्चालनका लागि अनुमति दिएको थियो । अनुमति पाएर झण्डै चार सय ग्यास बुलेट निर्माण भइसके पनि भारतले खतरामुक्त प्रमाणपत्र ‘एक्प्लोसिभ लाइसेन्स’ जारी नगरिदिँदा ती बुलेट त्यत्तिकै थन्किएर बसेका छन् ।
Categorized in राष्ट्रिय