काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदै गएपछि वाणिज्य बैंकहरूले वैशाख ०८३ का लागि निक्षेपको ब्याजदर अझै घटाएका छन ।
नेपाल राष्ट्र बैंक का अनुसार २६ चैतसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ७० खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको प्रमुख स्रोतका रूपमा रेमिट्यान्स आप्रवाह बढ्दै गइरहेको छ भने कर्जा विस्तार सुस्त रहँदा निक्षेप थपिँदै गएको हो ।
निक्षेप बढ्दै गएसँगै बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउने क्रम जारी राखेका छन ।
चैत महिनाको तुलनामा वैशाखका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर घटाएका हुन । चैतमा ४.४९५ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा घटेर ४.४ प्रतिशतमा कायम भएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपतर्फ ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एनआइसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंक रहेका छन ।
यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर दिने बैंकका रूपमा एनएमबि बैंक रहेको छ भने अन्य वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन ।
संस्थागत मुद्दती निक्षेपतर्फ पनि सिद्धार्थ बैंक, हिमालयन बैंक, नबिल बैंक र एनआइसी एसिया बैंकले ब्याजदर घटाएका छन ।
बाँकी वाणिज्य बैंकहरूले भने यसतर्फ ब्याजदर यथावत् राखेका छन् । संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर दिने बैंकका रूपमा एनआइसी एसिया बैंक र एनएमबि बैंक रहेका छन ।

Categorized in बैंक