काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने १० लाख राहत रकम पाउने भएका छन ।
सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको ७ लाख राहत बढाएर १० लाख रुपैयाँ पुराएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।
वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । २०८० साउनमा श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको २१ औ बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो ।
वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरुले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतवापत प्राप्त गर्दै आएका छन ।
बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा राहतसँगै श्रमिकको शव नेपाल झिकाउन र शवलाई घरसम्म र्पुयाउन, दाहसंस्कारका लागि परिवारलाई २५ हजार र श्रमिकको दुइवटा छोराछोरीलाई छात्रवृत्ति दिँदै आएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा खाडी तथा मलेशिया जाने श्रमिकहरुले कोषमा १५०० र जापान, कोरिया, लगायतका मुलुकहरुमा जादा २५०० रुपैयाँ जम्मा गर्नुपर्ने बैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डका अनुसार पछिल्लो तीन आर्थिक वर्षमात्र ३ हजार ८ सय श्रमिकको ज्यान गएको छ । बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९÷०८० मा १ हजार ३० जना र ०८०÷०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाएका छन ।
नेपालबाट वार्षिक साढे सात लाख श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक रहेको छ ।
Categorized in समाज