काठमाडौं । वीर अस्पताल ले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराउँदै आएको सेवा कटौती गरेको छ ।
अस्पतालले दीर्घरोगी बिरामीलाई बीमा मार्फत एकपटकमा तीन महिनासम्मका लागि औषधि उपलब्ध गराउँदै आएकोमा अब भने एक महिनाका लागि मात्रै औषधि दिने निर्णय गरेको हो ।
अस्पतालले १ फागुनदेखि अर्को व्यवस्था नभएसम्म बिमित सदस्यलाई एक महिनासम्मको औषधि मात्रै उपलब्ध गराइने सूचना जारी गरेको छ ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि भुक्तानी नगरेका कारण सेवा कटौती गर्नुपरेको हो ।
उनका अनुसार बीमा कार्यक्रमअन्तर्गतको ४० करोड रुपैयाँभन्दा बढी रकम अस्पतालले लिन बाँकी छ ।
“वीर गरिबको अस्पताल भएकाले सबै सेवा बन्द गर्दा बिरामी मारमा पर्छन्। अहिले आर्थिक दायित्व कम गर्नका लागि सेवा केही कटौती गरेका हौं,” डा. शर्माले भने ।
उनका अनुसार अस्पतालले सबैभन्दा ठूलो समस्या औषधि खरिदमा भोगिरहेको छ ।
“सरकारले पैसा नदिँदा औषधि किन्न सकिएको छैन, उपकरण मर्मत गर्न सकिएको छैन। सेवालाई धान्न नै मुस्किल भइरहेको छ,” उनले बताए ।
स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर आर्थिक संकटमा परेको छ । लामो समयदेखि बिमितको उपचार गरेबापतको रकम भुक्तानी नपाएपछि केही ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिँदै समयसीमा तोक्न थालेका छन ।
बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्मको ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
Categorized in स्वास्थ्य