काठमाडौं । सुर्खेतमा मंगलवार टिपरले किचेर एक युवकको मृत्युपछि भएको आन्दोलनको कारण कर्फ्यु जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यलय सुर्खेतले एक कर्फ्युको आदेशको सुचना जारी गरी आज बेलुका साढे ६ बजेदेखि बुधवार विहान ६ बजेसम्म कर्फ्यु लगाएको छ ।
बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएपछि दिनभर स्थिती तनावग्रस्त बनेको थियो ।
भे१ख २२४२ नम्बरको टिपरले किच्दा सिंहको मृत्यु भएपछि उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन सुरु भएको थियो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिईसकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले प्रशासन र पीडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भए पनि आन्दोलन नरोकिएको बताएको छ ।
आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द गराउनुका साथै त्यस आसपास क्षेत्रमा बजारसमेत बन्द गराएका छन । साथै तोडफोडमा उत्रिएका छन ।
कर्फ्युको आदेशको सुचनामा जारी भए अनुसार उक्त क्षेत्रको पूर्वमा ईत्राम खोला, पश्चिममा बाङगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराज्यमार्गको ५०० मिटर दक्षिण गेटसम्म कर्फ्यु लाग्ने छ ।

Categorized in समाज