काठमाडौं । विश्वास नेपाल मिलन केन्द्र, टेबहाल गत ज्येष्ठ १७ गते, फ्रिडम फन्डको आर्थिक सहयोगमा भेस परियोजना अन्तर्गत विश्वास नेपालले ‘घरेलु हिंसा सम्बन्धि एन तथा कानुन’ विषयमा अर्ध–संरचित सामुहिक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम विश्वास नेपालमा स्वयंसेवा गर्दै आइरहेका सेन्ट जेभियरस कलेजका विधार्थीहरु रोनिशा श्रेष्ठ, रितम्भरा पोखरेल र प्रतिक्षा राजोपध्यायले संचालन गरेका थिए ।
सहभागीहरुलाई घरेलु हिंसा तथा त्यसका प्रकारबारे बुझाउने तथा घरेलु हिंसामा अपनाउनुपर्ने कानुनि प्रक्रियाहरुबारे सिकाउने उधेश्यले संचालन गरिएको सो कार्यक्रम करिब २ घण्टाको रहेको थियो भने उक्त कार्यक्रममा सम्बन्धित विषयवस्तु अन्तर्गत घरेलु हिंसा र त्यसका प्रकार, नेपालमा घरेलु हिंसाका केसहरु र त्यससम्बन्धि कानुनि सजायको बारेमा बुझाइएको थियो ।
साथै घरमा हुने घरेलु हिंसा तथा अन्य ठाउँ जस्तै कार्यस्थलमा हुने हिँसाका सम्भावित कारणहरुबारे पनि छलफल गरिएको थियो साथै घरेलु हिंसा रोकथाम गर्ने उपायहरु तथा व्यक्तिगत स्तरमा घरेलु हिँसा रोक्ने उपायहरु र मुद्दा दायर गर्ने कानुनि विधिहरु समावेश गरिएको प्रोटोकोलको बारेमा पनि जानकारी गराइएको थियो ।
सहभागीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले डिजाइन गरिएको सम्पूर्ण उद्देश्यहरु पूरा गर्न सफल रह्यो भने, सहभागीहरुले कार्यक्रम सम्बन्धि सकारात्मक पृष्ठपोषण दिएका थिए ।
सो कार्यक्रमको अन्त्यमा विश्वास नेपालले आउँदा दिनहरुमा पनि मनोरन्जन क्षेत्रमा कार्यरत महिलाहरुको लागि यस्तै ज्ञानवद्र्धक कार्यक्रमहरु संचालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको थियो ।
Categorized in समाज