काठमाडौं । विश्वास नेपालद्धारा सामुदायिक सेवा केन्द्र गंगबु तथा सामुदायिक प्रहरी सेवा केन्द्र र व्यवसायीहरुविच शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको विषयमा केन्द्रित सो छलफलमा होटल, रेष्टुरेन्ट, दोहरी तथा डान्सबारमा श्रमिक महिलाहरुमाथि हुने यौनदुव्र्यहार, श्रम शोषण, कम उमेरका युवतीहरुलाई श्रममा लगाई शोषण गर्ने गरेको सरोकारवालाहरुले बताएका थिए ।
सामाखुसिस्थित स्काई पार्टी प्यालेसमा भएको सो कार्यक्रममा प्रमुख अथिति रहेका टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष जोग प्रसाद नेपाले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको विषयमा काम गरेको विश्वास नेपालसँग वडाले सहकार्य गरेर अघि बढ्न सक्ने बताए ।
प्रमुख अतिथि नेपालले मनोरञ्जन क्षेत्रमा व्यवासायीहरुले स्वस्थ्य मनोरन्जन गराई श्रमिक महिलाको सम्मान गर्न आग्रह गरेका छन् ।
त्यसैगरी कार्यक्रममा सामुदायिक सेवा केन्द्र गंगबुका कार्यबाहक अध्यक्ष शैलेश कार्की, महानगरिय प्रहरी बृत महाराजगंजका डिएसपी भेषराज रिजाल, प्रहरी प्रभाग गंगबुका प्रमुख मोहन विक्रम के.सी, काठमाडौं होटल व्यवसायी संघबाट पदम लिम्बु, संयुक्त होटल व्यवसायी संघबाट प्रकश जियमत, नेपाली होटल व्यवसायी संघबाट अमर दाहाल लगायतका उपस्थिती रहेको थियो ।
विश्वास नेपालका कार्यक्रम संयोजक कमला सापकोटाले कार्यक्रमबारे प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रम संचालन विश्वास नेपालका परशु चौधरीले गरेका थिए ।
Categorized in समाज