काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता जनकपुर बोल्टलाई ९ रनले पराजित गर्दै विराटनगर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
१३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र जोड्न सक्यो। बलिङतर्फ कप्तान सन्दीपले ४ विकेट लिए ।
उनले ४ ओभरमा मात्र ११ रन खर्चिँदै १५ डट बल फ्याँके। सूर्य तामाङले २ विकेट लिए भने शुभम रन्जने र मर्स्याङ डी लाङले समान १–१ विकेट हात पारे ।
जनकपुरको इनिङ खराब सुरुवातसँगै दबाबमा रह्यो। ओपनर आसिफ शेख सूर्य तामाङबाट तेस्रो ओभरमै बोल्ड भए। कप्तान अनिलकुमार साह ४ रनमा जर्ज मुन्सीमार्फत क्याच आउट हुँदा जनकपुर थप संकटमा परेको थियो ।
लाहिरू मिलिन्था २३ रनमा सन्दीपबाट बोल्ड भएपछि जनकपुर ८.२ ओभरमा ३ विकेट गुमाएर ४६/३ मा झरेको थियो ।
यता, यान निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए पनि उनले अन्तिम ओभरमा रनआउट भएपछि जनकपुरको सम्भावना क्षीण भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
शुभम रन्जने ३७ रनसहित शीर्ष स्कोरर रहे। बसिर अहदमले ३६ रन योगदान दिए। लोकेश बमले २८ रन जोडे ।
जनकपुरका बलरमध्ये रुपेश सिंह र संगित कोरीले २–२ विकेट लिए।
लगातार तीन खेलमा विजयको सुरुवात गर्दै विराटनगरले प्लेअफ दाबेदारी मजबुत बनाएको छ भने जनकपुर भने लगातार दोस्रो खेलमा पराजित हुँदै दबाबमा परेको छ।
Categorized in मनोरन्जन