काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (वादल)ले विप्लव माओवादी सर्लाही इन्चार्ज कुमार पौडेलको भिडन्तमै मृत्यु भएको दावी गरेका छन ।
संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको बताए ।
गृहमन्त्री थापाले प्रहरीको बचाउ गर्दै भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’
यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट पौडेल मारिएका थिए ।
सर्लाहीको लावबन्दी र हरिऔन इलाकामा विप्लव समूहले चन्दा आंतक फैलाएको व्यापक जनगुनासो आएपछि प्रहरी टोली सो क्षेत्रमा निगरानी जाने क्रममा प्रहरीसँगको मुठभेडमा पौडेल मारिएको गृहमन्त्री थापाले समितिलाई बताएका थिए ।
विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।
त्यसबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको थापाले बताए ।
यस घट्नालाई लिएर विप्लव माओवादीले कडा विरोध गर्दै पौडेलाई नियन्त्रणमा लिएर हत्या गरेको दावी गरेको छ । माओवादीले सो घट्नाको निष्पक्ष छानविन हुनु पर्ने माग समेत गरेको छ ।
मानवअधिकार आयोगले पनि घट्नाको छानविन गरी दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेको छ । यस घट्नको सत्तारुढ दलका सांसदहरुबाट पनि विरोध भईरहेको छ ।
सर्लाही घट्नामा अन्य ३ जना भने जंगलतर्फ भागेको र एकलाई गोली लागेको गृहमन्त्री थापाले आशंका गरेको छ ।
Categorized in राष्ट्रिय