काठमाडौँ । विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै मंगलवार तीन विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गरेको छ ।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको समस्याका सन्दर्भमा आन्दोलनरत विद्यार्थी सङ्गठनका नेतालाई तत्काल रिहाइ गर्न माग गरेको हो ।
सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयमा भएको घटनामा पक्राउ परेका विद्यार्थीहरुको रिहाइ गर्न माग गर्दै विज्ञप्तीमा भनिएको छ शान्तिपूर्ण रुपमा आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाई समस्या समाधान गर्नुको सट्टा उल्टै विद्यार्थी नेताहरूलाई शृङ्खलाबद्धरुपमा धरपकड गर्ने विश्वविद्यालय प्रशासनको अलोकतान्त्रिक र गैरजिम्मेवार रहेको छ ।
प्रशासनले गत सोमबार नेविसङ्घका केन्द्रीय सदस्य विवेक आचार्यलाई नेपालगञ्जबाट, क्रान्तिकारीका केन्द्रीय सदस्य देवीचन्द्र उपाध्यायलाई काठमाडौँबाट र विश्वविद्यालयका स्ववियु सचिव भरत शाहीलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।
मंगलवार विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाही, कोषाध्यक्ष सुशील भट्ट र नेविसङ्घ नेता मोहन रानालाई पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।
Categorized in समाज