१२ भाद्र २०८३, शुक्रबार
Header

वरिष्ठ सञ्चारकर्मी विजयरत्न र कलाकार राजनको सहयोगार्थ ‘किशोर कुमार नाइट’हुँदै


प्रकाशित: विहिवार, ११ भाद्र २०८३, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपालभाषाका प्रथम चलचित्र पत्रकार तथा वरिष्ठ सञ्चारकर्मी विजयरत्न तुलाधर र क्यान्सर रोगबाट पीडित कलाकार राजन थापाको उपचार सहयोगार्थ भक्तपुरमा विशेष सांगीतिक कार्यक्रम ‘किशोर कुमार नाइट’ आयोजना हुने भएको छ ।


कलाकार तथा समाजसेवी रवीन्द्र शाहीको पहलमा आर.वि. इन्टटेइनमेन्ट तथा हिल्स होम थिएटर तथा प्रोडक्सनको आयोजना  कार्यक्रम हुने भएको हो । 


आयोजकका अनुसार भदौ २० गते शनिवार साँझ ५ बजेदेखि भक्तपुरको सल्लाघारी, चुंङ्गा गणेशस्थानस्थित नेवाःननीमा साँगितिक साँझ हुने भएको छ । 


कार्यक्रमबाट दुई उपचाररत व्यक्तित्वका लागि आर्थिक सहयोग जुटाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । 


कार्यक्रममा तीन दशकदेखि गीत–संगीत क्षेत्रमा सक्रिय गायक किशोर कुमार शाहीले नेपाली, नेपालभाषा र हिन्दी गीत प्रस्तुत गर्नेछन ।


साथै सरिता महर्जन, निशा देसार, दिपा महर्जन, रत्न शोभा महर्जन, लक्ष्मी स्याङ्ताङ तामाङ, पूजा सुनुवार, शुद्ध लक्ष्मी श्रेष्ठ, सबिना मानन्धर, देवकुमारी खड्गी, सरिता शाही, रोजी डंगोल र सरस्वती मानन्धरलगायतका कलाकारको प्रस्तुति रहनेछ ।


कार्यक्रममा गायक राजेन्द्र श्रेष्ठको समेत गायन प्रस्तुति रहने आयोजकले जनाएको छ । 


विभिन्न पुस्ताका कलाकार तथा गायक–गायिकालाई एउटै मञ्चमा प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक तथा सामाजिक दुवै दृष्टिले विशेष बनाउने तयारी गरिएको छ ।


आयोजकका अनुसार ‘किशोर कुमार नाइट’ मनोरञ्जनमा मात्र सीमित नभई मानवीय सहयोग र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान हो ।


संगीतमार्फत मनोरञ्जनसँगै कठिन अवस्थामा रहेका व्यक्तिका लागि आशा र सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ ।

 
दर्शक तथा कलाकारको सहकार्यबाट दुई उपचाररत व्यक्तित्वको उपचारमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex