काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत (लोकप्रिय) पाउने दलले ५ वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन ।
महामन्त्री थापाले शनिवार पोखराको एक कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन ।
थापाले भने, ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’
अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।
उनले प्रदेश सरकारको मन्त्रिपरिषदको आकार घटाउनुपर्ने पनि बताए । प्रदेश सरकारमा चार–पाँच जना मन्त्री रहने भनेर संविधानमै लेख्नुपर्ने उनले बताए ।
थापाले भने, ‘प्रदेशमा चार जना–पाँच जना कति जना मन्त्री बनाउने हो संविधानले बाँध्नुपर्छ । अहिले संविधानमा २५ जना मन्त्री भनेर नलेखिएको भए केन्द्रमा ५० जना मन्त्री बनेका हुन्थे ।’
4 January 2025, Saturday
Categorized in राष्ट्रिय