काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै समेटेर ९ ओभरमै लक्ष्य पूरा गरेको हो ।
सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ४ विकेट गुमाउँदै भेट्टायो । यससँगै लुम्बिनी पहिलो पटक एनपीएलको च्याम्पियन बनेको छ भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामै सीमित रह्यो ।
लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारी चम्किए । उनले कप्तान दीपेन्द्र सिंह ऐरीको पहिलो ओभरमै चार छक्का प्रहार गर्दै आक्रामक सुरुवात दिलाए ।
दिनेशले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाए ।
उनले डार्शी सर्टसँग पहिलो विकेटका लागि ४ ओभरमै ५८ रनको साझेदारी गरे । सर्ट १४ बलमा १३ रन बनाए । कप्तान रोहित पौडेलले १६ तथा निरोशन डिकवेलाले अविजित ११ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । यो एनपीएल फाइनलको सबैभन्दा कम योगफल हो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले ५१ बलमा ३३ रन बनाए । कप्तान दीपेन्द्रले १३ तथा हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।
लुम्बिनीका बलरहरू प्रभावशाली रहे । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए ।
रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा १२ रन मात्र खर्चिए । ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन दिएर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन खर्चिए ।
लिग चरणको सुरुवातपछि संकटमा परेको लुम्बिनीले पछिल्ला ६ खेल लगातार जित्दै उपाधिसम्मको यात्रा पूरा गरेको हो ।
Categorized in मनोरन्जन