२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगर ‘युनेस्को संगीतको रचनात्मक सहर’ घोषणा


प्रकाशित: शनिवार, १५ कात्तिक २०८२, १८ः४२ बजे
- महानगरखबर

ललितपुर ।  संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक सहर’ को रूपमा घोषणा गरेको छ ।


विश्व सहर दिवस २०२५ को अवसरमा युनेस्कोले शनिबार गरेको उक्त घोषणा ललितपुरका लागि ऐतिहासिक उपलब्धि मानिएको छ ।


युनेस्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो प्रतिष्ठित सम्मानले ललितपुरको जीवन्त सांगीतिक सम्पदालाई र दिगो सहरी विकासको आधारको रूपमा सिर्जनशीलतालाई अगाडि बढाउने प्रतिबद्धतालाई मान्यता दिएको छ ।”


विज्ञप्तिमा थप भनिएको छ, “यो ललितपुरका प्रत्येक बासिन्दा र संगीतकर्मीका लागि गौरवको क्षण हो र सम्पूर्ण नेपालका लागि ठूलो गर्वको विषय हो ।”


यससँगै नेपालमा अब दुई ‘युनेस्को रचनात्मक सहर’ भएका छन्—फिल्मको लागि काठमाडौं महानगर र संगीतको लागि ललितपुर महानगर ।


सन २००४ मा सुरु गरिएको युनेस्को क्रिएटिभ सिटिज नेटवर्कले विश्वभरका ती सहरहरूलाई जोड्छ जसले दिगो सहरी विकासमा आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षमा सृजनशीलतालाई मुख्य रणनीति बनाएका छन । 


ललितपुरसँगै युक्रेनको किभ, बेल्जियमको लिज, अमेरिकाको न्यू अर्लिन्स, मोन्टेनेग्रोको निकसिक र चीनको उक्सीलाई पनि यस वर्ष ‘संगीतको रचनात्मक सहर’को रूपमा चयन गरिएको युनेस्कोले जनाएको छ ।


युनेस्कोले केही वर्षअघि काठमाडौं महानगरलाई ‘फिल्मको रचनात्मक सहर’को रूपमा घोषणा गरेको थियो । 


सो घोषणापछि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी भएका थिए भने उपप्रमुख सुनिता डंगोलले सम्बन्धित सरोकारवालासँग छलफल समेत थालेकी थिइन ।

 
ललितपुरको यो नयाँ उपलब्धिलाई देशको सांगीतिक र सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा उजागर गर्ने अवसरका रूपमा हेरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex