काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरवासीलाई आवश्यक सेवा दिन नगर प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) सेवा सुरू गरेको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार कुनै पनि भईपरी आउने समस्या, घट्ना दुर्घट्ना वा कुनै पनि समस्याहरु पर्न गएको खण्डमा क्यूआरटी सेवाले तुरुन्त सेवा दिनेछ ।
विहिवार सो सेवाको घोषणा गरेका प्रमुख महर्जनले यूआरटी टोलीले नगर सफाइदेखि सार्वजनिक आवागमनमा बाधा पुर्याउने गरी राखिएका फुटपाथ पसल हटाउन, अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्न र हटाउने लगायतका काम गर्ने बताए ।
यस सेवाको लागि महानगरले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लिएर हिँड्ने छ । ‘ललितपुर महानगरले अब उप्रान्त कुनै पनि पेट्रोल, डिजेल र मटिट्टेतेलबाट चल्ने गाडी हामी खरिद गर्दनौं प्रमुख महर्जनले भने,‘ जति पनि भ्यानहरु, गाडीहरु खरिद गर्छौ, त्यो भनेको विद्युतिय सवारी साधानहरु खरिद गर्छौ, मेरो आफ्नै गाडी विद्युतिय गाडी छ ।’
उनले पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको जानकारी दिए ।
सो अवसरमा महानगर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले सामान्य सवारी पार्किङ व्यवस्थापनदेखि घटना र दुर्घटनाका बेला महानगरबासीलाई तत्काल सेवा दिन क्यूआरटी सेवा सुरू गरिएको बताए ।
ललितपुर महानगरपालिकाभित्रका सबै वडामा पुग्ने फोटो र भिडियो खिच्ने क्यामेरासहित यो टोलीले सडक संरक्षण, फुटपाथको सदुपयोग, ढल र सरसफाइलाई व्यवस्थित गर्नेछ ।
Categorized in स्थानिय