काठमाडौँ । ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र स्थापना गर्ने भएको छ ।
बुधवार महानगरपालिको पत्रकार सम्मेलन गरेर विसं २०७६ वैशाख ३० देखि एक वर्षसम्म मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
सताब्दी पुरुष जोशी विसं २०७६ वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दैछ ।
पत्रकार सम्मेलनमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले प्रष्ठिानबारे जानकारी दिँदै उक्त अध्ययन केन्द्र स्थापनाले जोशीका बारेमा अध्ययन गर्न चाहनेलाई सहयोग पुग्ने बताए ।
महानगरभित्रका एक विशेष स्थानमा प्रतिमासहितको जोशीको नाममा पार्क निर्माण गर्ने सो पार्कको बाटोलाई जोशीको नाममा नामाकरण गरिने पत्रकार सम्मेलनमा प्रमुख महर्जनले बताए ।
त्यसैगरी जोशीलाई गोसाइँकुण्ड (सिलु) दर्शनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा कार्यसम्पादन समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष श्री गोपाल महर्जनले जानकारी दिए ।
यसैगरी वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक’ प्रदान गर्ने भएको छ ।
यसैगरी सत्यमोहन जोशी भाषा र तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन, स्वर्णमुद्रा निस्काशन, विशेष स्मारिका प्रकाशन, श्रव्यदृश्य सामग्री तयार गर्ने जानकारी दिएको छ ।
पाटन सङ्ग्रहालयभित्र रहेको भण्डारखाल बगैँचालाई सुन्दर एवं व्यवस्थित बनाउन जोशीबाट उद्घाटन गरी शिलान्यास गर्ने योजना रहेको बताइएको छ ।
शताब्दी महोत्सवको पहिलो दिन २०७६ वैशाख ३० गते जोशीलाई नगरपरिक्रमा गराउने प्रमुख महर्जनले बताउँदै राष्ट्रका लागि योगदान गर्ने व्यक्ति सम्मान गर्न यो एक वर्षभरि नै कार्यक्रम मनाउने निर्णय गरेको जानकारी दिए ।
जोशीको शतवार्षिकी कार्यक्रम मनाउन महानगरका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा १११ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिको बैठकले एक वर्षभरि मनाउने कार्यक्रम छलफल गरी निर्णय गरेको थियो ।
यस अघि महानगरले यसअघि नै जोशीको दिनचर्या र जीवनयापनलाई सहज बनाउन सवारीधान, ड्राइभर, गार्ड, मोबाइल फोनलगायत प्रदान गरेको छ ।
Categorized in सम्पदा/संस्कृति