काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार महानगरको सातौं नगरसभामा बजेट प्रस्तुत गर्दै स्रोत व्यवस्थापन, आन्तरिक प्रणाली सुधार र कर प्रणालीमा सहुलियतका प्रस्तावहरु पेश गरिकी छिन ।
शाक्यका अनुसार संघीय सरकारबाट १ अर्ब ४१ करोड २७ लाख र प्रदेश सरकारबाट १८ करोड २७ लाख बराबरको अनुदान प्राप्त हुने अनुमान छ ।
आन्तरिक स्रोतबाट ३ अर्ब ७१ करोड ४६ लाख, विकासमा जनसहभागिताबाट ८ करोड ५० लाख, अन्तरसरकारी निकायबाट ९५ करोड १५ लाख र मौज्दातबाट १ अर्ब १२ करोड ७३ लाख रुपैयाँ समेटिएको बजेट प्रस्ताव गरिएको हो ।
महानगरले करको दायरा विस्तार, कर सचेतना कार्यक्रम सञ्चालन तथा भवन अभिलेखीकरण मार्फत १ अर्बभन्दा बढी आन्तरिक राजस्व वृद्धि गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं महानगरपालिकामा भने बजेट अन्योलमा, कानुनी समयसीमा पनि कटे
साधनस्रोत र जनसंख्याका हिसाबले देशको सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं भने बजेटबिनै असार १० गते टुंगिएको छ । ऐन अनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि काठमाडौं महानगरले नगरसभा नै बोलाउन नसकेको कारण बजेट प्रस्तुति असम्भव बनेको हो।
मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वले कार्यपालिका बैठक बस्न नसक्दा बजेट प्रक्रियामा अवरोध आएको हो।
उपमेयर सुनिता डंगोलले बजेट पेश गर्न सक्ने भए पनि सभा बोलाउने अधिकार मेयरकहाँ भएकाले कार्यान्वयनको बाटो बन्द भएको छ।
वडाध्यक्षहरू समेत अनभिज्ञ अवस्थामा रहेका छन् । वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले “चार–पाँच महिना भयो, बोर्ड बैठक बसेको छैन, हामी आफै अन्योलमा छौं,” भनेका छन्।
Categorized in पालिका