१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरले मनायो १०६ औं स्थापना दिवस (भिडियो)


प्रकाशित: मंगलवार, २ पुस २०८१, २०ः३० बजे
- अजय कुमार खड्गी

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलवार १०६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 


महानगरको प्रांगणमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशेष समारोहका साथ स्थापना दिवस मनाएको हो । 


सो अवसरमा महानगरपालिकाले महानगर प्रहरी, विद्यालय, विद्यार्थी, शिक्षक, उत्कृष्ट करदाता, कर्मचारी, समाजसेवी, पत्रकारलगायतलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए । 
यस अवसरमा प्रधान‍मन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाको स्थापना दिवसमा ‘हयाप्पी वर्थडे महानगर’ भन्दै आफ्नो भनाई सुरु गरेका थिए । 


प्रधानमन्त्री ओलीले ललितपुर महानगरमा भौतिक प्रगतिदेखि कर्मचारीहरूसम्मको प्रशंसा गरेका हुन्।

 


उनले अरू ठाउँमा पहेँलो/रातो बल्ने ट्राफिक लाइट नै बाल्न गाह्रो भइरहेको बेला ललितपुरले इन्टेलिजेन्ट ट्राफिक लाइट सुरू गरेकोमा महानगरलाई वधाई दिएका थिए । 


उनले भने,‘यो २/४ वर्षअगाडिसम्म सुन्न पनि नपाइने शब्द हो। यहाँ ट्राफिक लाइटको रातो÷पहेँलो बाल्न त गाह्रो थियो। ललितपुरले सुरू गरिसक्यो ।’

 


त्यसैगरी प्रधानमन्त्री ओलीले महानगर प्रहरीको पनि खुलेरै प्रशंसा गरेका छन । 


ललितपुरको महानगर प्रहरीले गरिबका तरकारी फालेको नसुनेको र नदेखेको पनि बताउँदै महानगर प्रहरीले राम्रो काम गरेको बताए । 

 


‘ललितपुर प्रहरीले अर्कै लोकको मान्छे आएको जसरी गुर्रर्र.. जिपमा आयो।  झ्याप्प गाडी रोकेर, गन्दर््ंग फाल हानेर पिरपिर सिठ्ठी बजाउँदै आतंक छाउँदै। यता फाल्दै, उता फाल्दै। ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै त्यस्तो गरेको मैले देखेको छैन,’ उनले भने। 


यसका लागि प्रधानमन्त्री ओलीले ललितपुर महानगरका प्रहरीलाई धन्यवाद पनि दिए । 


उनले भने,’तपाईंहरू आतंकको पर्याय होइन। तपाईंहरू जनताका लागि त्रास फिजाउने होइन। तपाईंहरूलाई देख्दा जनताले सुरक्षित महशुस गर्नुपर्छ। जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्दछ, लौ आयो! कता भागौं, के गरौं!  यस्तो हुनुहुँदैन। कोही घडी फुकालेर खल्तीमा लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने। यस्तो अवस्था नहोस्।’

 


उनले राज्यको कोषबाट अलिकति पनि पारिश्रमिका खाने मान्छेले आफू जनताको सेवक हुँ भन्ने बुझ्नुपर्ने बताए। 


’हाकिम हुँ भन्ने कुरा बिर्सनुपर्छ। विभिन्न तहका जिम्मा लिएको होला तर जनताको सेवक हो। घमण्ड पस्नुहुँदैन। घमन्ड पस्यो कि त्यसले अरू चिजलाई पस्न दिँदैन,’ उनले भने। 


सो अवसरमा प्रम ओलीले भ्रष्टहरूको अनुहार नभई काम हेरेर कारबाही हुने बताएका छन । 


’देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु भ्रष्टहरूको मुख हेरेर होइन काम हेरेर अपराध हेरेर कारबाही हुन्छ,’ उनले भने । 

 


उनले देशलाई गरिबीबाट माथी उठाउन र सुशासन कायम गर्न सरकार दत्तचित्त रहेको पनि बताए। 


यसै गरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउने इच्छा रहेको सुनाए ।

 
उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम भइरहेको पनि बताए ।

 


‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला,’ मेयर महर्जनले भने ।


महर्जनले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताउँदै उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।


उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाइओभर र एकान्तकुनामा अन्डर पास बनाउन जरुरी रहेको बताउँदै ती कामहरु सबै एकै पटक गर्ने भए महानगरले पनि एउटा फ्लाईओभर बनाउने प्रधानमन्त्री समक्ष प्रतिवद्धता व्यक्त गरे । 

 


महानगरपालिकाले उत्कृष्ट करदाताको रूपमा एनसेललाई सम्मान गरेको छ ।


एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मानपत्र प्रदान गरेका हुन् ।


गत आर्थिक वर्षमा संस्थागत तर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा मंगलबार एनसेलललाई ललितपुर महानगरले सम्मान गरेको हो ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex