५ भाद्र २०८३, शुक्रबार
Header

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी


प्रकाशित: विहिवार, ४ भाद्र २०८३, ०९ः५० बजे
- महानगरखबर

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आगामी ४७औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा संघका वर्तमान महासचिव भूमि नन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । 


आश्विन २३ र २४ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका कर्माचार्य पाटन सौगलस्थित बि. जि. ट्रेडिङ सेन्टरका सञ्चालक हुन । 


उनी २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन्। कार्यसमिति सदस्यका रूपमा तीन कार्यकाल, सामाजिक सेवा समितिको संयोजक तथा कोषाध्यक्ष हुँदै हाल महासचिवको जिम्मेवारी सम्हालिरहेका उनले संघमा पाँच कार्यकाल काम गरिसकेका छन । 


संघको रजतजयन्तीका अवसरमा लोगो अंकित सिक्का निष्कासन, जावलाखेलमा रजतजयन्ती स्तम्भ स्थापना तथा छात्रवृत्ति कोष विस्तारलगायतका काममा आफ्नो भूमिका रहेको कर्माचार्यले बताएका छन । 


उनका अनुसार छात्रवृत्ति कोष करिब ३ लाख ५० हजार रुपैयाँबाट बढाएर करिब २७ लाख रुपैयाँ पुर्‍याइएको छ ।


२०७७ देखि २०८० सम्म कोषाध्यक्षको जिम्मेवारी सम्हालेका कर्माचार्यले संघको आर्थिक अवस्था सुदृढीकरणमा काम गरेको बताए। २०८० सालदेखि महासचिव रहेका उनले सचिवालय सुदृढीकरण, तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम विस्तार, बागमती प्रदेश सरकारको सहयोगमा ललितपुर बिजनेस इन्क्युबेशन सेन्टर स्थापना तथा डिजिटल प्रणाली विकासमा काम गरिएको जानकारी दिए ।


फुटपाथ व्यापार, पार्किङ, कर तथा राजस्वसम्बन्धी व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकारसँग निरन्तर पहल गर्दै आएको पनि उनले बताए । 


विनाशकारी भूकम्प तथा कोभिड–१९ महामारीका समयमा संघका सदस्यसहित अन्य प्रभावितलाई राहत तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष संलग्न भएको र संघका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।


कर्माचार्य खाद्य व्यापार संघ ललितपुरका उपाध्यक्ष, नेपाल मुद्रा संकलक संघका उपाध्यक्ष, नेपाल फिलाटेलिक सोसाइटीका पूर्वसचिव तथा अनवरत रक्तदान नेपालका संस्थापक कोषाध्यक्षसमेत हुन । 


अध्यक्षमा निर्वाचित भए निजी क्षेत्रको आवाज संघ, प्रदेश र स्थानीय सरकारसम्म सशक्त रूपमा पुर्‍याउने, उद्योगी–व्यवसायीको हकहित तथा व्यावसायिक सुरक्षालाई प्राथमिकता दिने र संघको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता जनाएका छन । 


“महासचिवको पदीय दायित्व निर्वाह गर्दै गर्दा मैले संघलाई अझ नजिकबाट चिन्ने र बुझ्ने मौका पाएको छु। सदस्यका समस्या बुझेको छु । अब अध्यक्षको कुर्सीबाट ती समस्या निराकरण गर्ने जिम्मेवारी लिन चाहन्छु,” कर्माचार्यले भने । 


आफ्नो विगतको कामको मूल्यांकन गर्दै संघमा आबद्ध उद्योगी–व्यवसायी सदस्यबाट विश्वास र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गर्दै उनले आगामी निर्वाचनमा आफूलाई मत दिएर सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex