ललितपुर । ललितपुरको दक्षिणीभेगका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा मात्रै गरियो तर क्षतिग्रस्त पूर्वाधार बनाउने पर्याप्त बजेट नआएपछि असन्तुष्टि पोखिएको छ ।
शुक्रवार जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको छलफलमा धारणा राख्ने वक्ताहरूले उक्त असन्तुष्टि जनाएका हुन ।
बिकास सम्बन्धी सरोकारवालाहरुबीच प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ लक्षित छलफलमा धारणा राख्दै प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद संकटग्रस्त भएपनि पर्याप्त बजेट आउन नसकेको भन्दै सम्बन्धित कार्यालयले बजेट तथा योजनालाई ध्यान दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
“जनताको समस्या सम्बोधन गर्नेखालका योजनामा विषयगत कार्यालय र विभागले प्रयास नै नगरी बजेट आउँदैन, तपाईंहरुले तयार पारेको योजनामा हामीले पनि लबिङ् गर्ने हो, बजेट पार्न योजना व्यवस्थापन र कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ।“ उहाँले भन्नुभयो ।
उहाँले कान्तिलोकपथ नेपाल सरकारको प्राथमिकतामा छ भन्दै आफूले पनि विशेष ध्यान दिएर बजेट पार्न लागिपरेका बताउनुभयो। “ कान्तिलोकपथमा हामीले सोेचेभन्दा बढि बजेट परेको छ, ध्यान दिएर काम गरिदिनुहोला, कागजी प्रतिवेदन कमजोर भएर पनि विपदका बजेटहरु कम भएका छन्, सकेसम्म बढि योजना हाल्न ध्यान दिएका छौँ, कर्मचारी तहबाट नै योजनाको आवश्यकताको पुस्ट्याइ गरेर काम गर्न आग्रह गर्न चाहान्छु।“ उहाँले भन्नुभयो ।
बागमती प्रदेशको उपसभामुख अप्सरा घिमिरे चौलागाईंले प्रदेशसभाले बनाएको कानून कार्यान्वयनमा ललितपुर जिल्ला समन्वय समितिले बढि क्रियाशीलता देखाएको छ भन्दै जिल्लाको विकास निर्माणमा आफ्नो भूमिका अनुसार नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो।
बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशसभामा एमालेका सचेतक मदुसुदन पौडेलले प्रदेशबाट पर्याप्त बजेट आउन नसकेको हो भन्दै प्रदेशको बजेटमा धेरै योजना पार्न सकिने अवस्था छैन भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले ललितपुरका समस्यामा अनविज्ञ छैनौं भन्दै सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले आफूहरूले पटकपटक ससदमा कुरा उठाएर ध्यानाकर्षण गराएको भएपनि सम्बोधन हुन नसकेको बताउनुभयो ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले संघ र प्रदेशबाट जिल्लाको ग्रामीण क्षेत्रको आवश्यकता अनुसार सबैले पर्याप्त बजेट विनियोजन गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पर्याप्त बजेट नपठाउने हो भने विपद संकटग्रस्त घोषणाको कुनै अर्थ रहँदैन भन्दै जनताको आवश्यकता र माग अनुसार खर्च पुगेको छैन भन्नुभयो । उहाँले भत्किएको सडक र क्षतिभएको पूल बनाउनुपर्ने ठाउँ धेरै रहेको बताउनुभयो । उहाँले विपदको बेलामा धेरै संघसंस्थाले सहयोग गर्नुभयो, त्यसका लागि धन्यवाद भन्न चाहान्छु भन्नुभयो ।
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विपद कोषमा २ करोड ४९ लाख जम्मा भएपनि २ करोड ३४ लाख खर्च भैसकेको र अझै ७० लाख तिर्न बाँकी रहेको बताउनुभयो । उहाँले दीर्घकालीन रुपमा काम गर्न पर्याप्त बजेट संघ र प्रदेशबाट निकासा गरिदिनुपर्यो भन्ने आग्रह गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले प्रशासन कार्यालयको काम सुरक्षामा ध्यान दिँदै विकास निर्माणमा सहजीकरण गर्ने हो भन्दै जनताको दैनिक समस्यालाई समाधान गर्नेमा हाम्रो ध्यान केन्द्रीत छ भन्नुभयो । उहाँले गोदावरी नगरपालिकामा अस्थायी आवास निर्माणका लागि ३९ जनाको सिफारिस भएकोमा ६ जनाको मात्रै पूर्ण विवरण आएको जानकारी गराउनुभयो ।
29 March 2025, Saturday
Categorized in समाज