काठमाडौं । ललितपुरको गोदावारीस्थित दुई कारखानामा भीषण आगलागी भएको छ ।
मंगलवार दिउँसो गोदावरी नगरपालिका–१३ स्थित झरुवारासीको गुराया फुड्स प्रोडक्टस प्रालि र इस्टर्न इनर्जी प्रालि नामक दुई कारखानामा एकैसाथ आगलागी भएको हो ।
प्रहरीका अनुसार विद्युतको तार पड्किएर आगलागी भएको हो । आगालागीबाटी करिब ८ करोड बराबरको धनमाल नष्ट भएको प्रारम्भीक अनुमान रहेको छ ।
कारखानामा आगलागी हुँदा भण्डारण गरिएका चिजबल र विद्युतीय सामग्रीका कच्चा पदार्थ, त्यहाँ भएका उपकरण र भौतिक संरचना सबै जलेर नष्ट भएको कारखानाका सञ्चालक महेन्द्र सुवालले जानकारी दिए ।
साढे चार रोपनी क्षेत्रफलमा संचालन भएको सो चिजबल र विद्युतीय कारखाना पूरै जलेर नष्ट भएको छ ।
सञ्चालक सुवालका अनुासर त्यहाँभित्रका तयारी चिजबल, कुरकुरे, मकै, मैदा र विद्युतीय कच्चा पदार्थ सबै जलेर नष्ट भएका छन ।
कारखानामा कार्यरत १२ कर्मचारी कसैलाई पनि सामान्यबाहेक मानवीय क्षति नभएको महानगरीय प्रहरी प्रभाव बाँडेगाउँका प्रहरी प्रमुख श्याम कटुवाल क्षेत्रीले बताए ।
आगलागी नियन्त्रणमा काठमाडाँै र ललितपुर महानगरपालिकाका तीनवटा दमकलका साथै खुमलटारको राजदल गणका सैनिकसहित महानगरीय प्रहरी वृत्त चापागाउँ र बाँडेगाउँ प्रहरी खटिएका थिए ।
गुराया फुड्स प्रोडक्टस सुवालकी पत्नी सङ्गीता डङ्गोल र गुरु भेज सिंहको नाममा दर्ता भएको छ भने इस्टर्न इनर्जी प्रालि राजेन्द्र गोयलको नाममा दर्ता भएको बताइएको छ ।
Categorized in समाज