काठमाडौं । लघुवित्त वित्तीय संस्थाले अब सेयरधनीलाई अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने भएका छन ।
यसअघि लाभांश वितरणको सीमा १५ प्रतिशतमा सीमित थियो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार कार्यान्वयन निर्देशिका जारी गर्दै लाभांश वितरण सम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसारः
निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएकाले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने ।
५ देखि १० प्रतिशत निष्क्रिय कर्जा भएकाले अधिकतम २० प्रतिशतसम्म।
१० देखि १५ प्रतिशत निष्क्रिय कर्जा हुनेले अधिकतम १५ प्रतिशतसम्म ।
१५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुने लघुवित्तले भने लाभांश वितरण गर्न पाउने छैन ।
त्यस्तै, नगद लाभांश वितरणका लागि पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गर्नुपर्ने शर्त राखिएको छ । तोकिएको चुक्ता पूँजी नपुगेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश दिन नपाउने तर बोनस सेयर भने वितरण गर्न सक्नेछन ।
यसअघि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेमा त्यसको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछिको १५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने बाध्यताका कारण लघुवित्तले बढी लाभांश दिन नसक्ने अवस्था थियो ।
Categorized in बैंक