काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।
उपसभापतिद्वय डीपी अर्याल र डा। स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका हुन ।
ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजना गरिएको कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूको सहभागिता रहेको छ ।
कार्यक्रम बुधबारसम्म सञ्चालन हुने र यस अवधिमा पार्टीका शीर्ष नेतासहित विषय विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
तर, कार्यक्रमको पहिलो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित हुन सकेनन ।
उपसभापति अर्यालका अनुसार स्वास्थ्य अवस्था र कार्यव्यस्तताका कारण उनीहरू कार्यक्रममा सहभागी हुन नसकेका हुन ।
यसैबीच, कार्यक्रममा भावुक क्षण पनि देखिएको थियो ।
जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सहभागी हुँदा उनी भावुक बनेकी थिइन । उक्त क्रममा सुधन गुरुङले उनलाई अंगालो हाल्दै सान्त्वना दिएका थिए ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो भने समानुपातिक प्रणालीमार्फत थप ५७ सांसद प्राप्त गरेको छ ।
Categorized in राष्ट्रिय