१४ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रास्वपा अभिमुखीकरणमा सभापति रवि लामिछानेको यी भनाईहरु


प्रकाशित: बुधवार, ४ चैत्र २०८२, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम निर्वाचनपछि आफ्नो राजनीतिक दिशा स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, जिम्मेवार र नीतिमुखी बन्न कडा निर्देशन दिएको छ ।


ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीलाई ‘पपुलिस्ट’ छविबाट माथि उठाएर संस्थागत, उत्तरदायी र परिणाममुखी राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने संकेत गरेका हुन ।


कार्यक्रमको समापन सत्रमा सहभागी भएका लामिछानेले ऐतिहासिक जनमतलाई “देशको इतिहास आफ्नै हातले लेख्ने अवसर” का रूपमा व्याख्या गर्दै त्यसलाई जिम्मेवारीपूर्वक संस्थागत गर्नुपर्नेमा जोड दिए । 


उनले जितको उन्मादमा नडुब्न सांसदहरूलाई सचेत गराउँदै जिम्मेवारी बोध गर्न आग्रह गरे ।


उनले स्पष्ट पारे— अब पुरानो शैलीको राजनीति, गुटबन्दी, शक्ति दुरुपयोग र बिचौलिया संस्कृतिको अन्त्य हुनुपर्छ । सांसदहरूको मूल काम विकास निर्माणमा प्रत्यक्ष संलग्न हुनु नभई कानुन निर्माण र नीति निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । 


लामिछानेले विकासको परिभाषा पुनः व्याख्या गर्दै सामाजिक न्यायलाई मुख्य सूचकका रूपमा प्रस्तुत गरे । कर्णाली, मधेस र सुदूरपश्चिमका नागरिकको आधारभूत आवश्यकता—स्वास्थ्य, शिक्षा, खानेपानी र पोषण—पूरा हुनु नै वास्तविक विकास भएको उनले उल्लेख गरे ।


पार्टीभित्र समावेशितामा कमी रहेको स्वीकार गर्दै उनले राई–लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोमा क्षमायाचना गरेका छन । 


साथै, आगामी दिनमा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन ।


उनले लोकतान्त्रिक प्रणाली र वर्तमान संविधानप्रति पार्टीको पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै सुधार आवश्यक भए पनि व्यवस्था डगमगाउन नदिने स्पष्ट पारे । 


साथै, पुराना राजनीतिक दल र नेताहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै सहिष्णु राजनीतिक संस्कृतिको विकासमा जोड दिए ।


सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल प्रयोगमा संयमता अपनाउन निर्देशन दिँदै उनले असहिष्णु र आक्रामक व्यवहार त्याग्न आग्रह गरे । 


“एक शब्दले पनि देशलाई दीर्घकालीन असर गर्न सक्छ,” उनले चेतावनी दिए ।


लामिछानेले सांसदहरूलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर पुस्तान्तरणको सोचसहित काम गर्न निर्देशन दिँदै “हामी अर्को चुनावका लागि होइन, अर्को पुस्ताका लागि लडिरहेका छौं” भन्ने सन्देश दिएका छन ।


पार्टी विधानअनुसार ‘राइट टु रिकल’ कार्यान्वयन गरिने उल्लेख गर्दै उनले जनअपेक्षा विपरीत काम गर्ने प्रतिनिधिलाई फिर्ता बोलाइने चेतावनी दिए । 


साथै, मन्त्री चयनबारे कुनै निर्णय नभएको स्पष्ट पार्दै मिडियामार्फत ‘मन्त्री दाबी’ गर्ने प्रवृत्ति रोक्न पनि निर्देशन दिएका छन । 


त्यसैगरी, निजी क्षेत्र, गैरआवासीय नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई लक्षित गर्दै उनले लगानी सुरक्षित रहने र नीतिगत स्थायित्व कायम गरिने आश्वासन दिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex