काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा समितिका सदस्य सांसदहरुले राष्ट्रिय परिचय पत्रको डाटा सुरक्षाको विषयमा प्रश्न गरेका छन ।
उनीहरुले गृहमन्त्री रमेश लेखकसँग डाटा सुरक्षाको बारे जिज्ञाशा राखेका थिए ।
भिडियोः
गृहमन्त्री लेखकले सरल र सहज सेवा प्रवाह, सुशासन, अपराध नियन्त्रण र सामाजिक सुरक्षाको न्यायोचित वितरणका लागि राष्ट्रिय परिचयपत्र आवश्यक भएको बताएका छन ।
शुक्रबार समितिमा भएको छलफलमा गृहमन्त्री लेखकले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको बताए ।

‘राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार गम्भीर र संवेदनशील छ,’ उनले भने, ‘नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनुपर्छ, तर त्यसको दुरुपयोग हुन दिँदैनौँ ।’
गृहमन्त्री लेखकले विश्वका विभिन्न मुलुकमा राष्ट्रिय परिचयपत्र प्रचलनमा रहेको उल्लेख गर्दै विभिन्न निकायका छुट्टाछुट्टै प्रकृतिका कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक भएको जिकिर गरे ।
उनले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, प्रशोधन र छपाइसम्बन्धी कार्य तथा तथ्याङ्कको सुरक्षा र भण्डारणको अवलोकन गरी आमनागरिकलाई यसप्रति आश्वस्त पार्ने भूमिका निर्वाह गर्न सांसदहरूलाई आग्रह गरे ।

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले पनि आईटीमा स्नातक अध्ययनरत आफ्नै भान्जाले घर बसी(बसी महिनाको तीन लाख रुपैयाँ आम्दानी गर्ने गरेको उदाहरण दिँदै सरकारी सेवामा यत्तिको पारिश्रमिक नहुने भएकाले दक्ष जनशक्ति जुटाउन गाह्रो भएको धारणा राखे ।

यस विषयमा एमालेका अर्का सांसद कृष्णगोपाल श्रेष्ठ, ईश्वरी न्यौपाने, गिरिराजमणी पोखरेल लगायतले राष्ट्रिय परिचय पत्रको डाटा सुरक्षाबारे चासो राखेका थिए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले परिचयपत्र छपाइमा भइरहेको ढिलाइ र यसबारे सर्वसाधरणमा रहेको अन्योल हटाउन नसक्नुमा स्रोत–साधन र जनशक्तिको अभाव पनि कारण रहेको बताएका छन ।

विभागमा अहिले १५ दरबन्दीमध्ये १० जना इन्जिनियरले जागिर छोडेर कोही विदेश गएको र कोही अन्य क्षेत्रमा प्रवेश गरेपछि ५ जनाले काम गरिरहेको उनले बताए ।
महानिर्देशक कट्टेलले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत हालसम्म १ करोड ६५ लाखभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए । हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको र ५५ लाखवटा कार्ड विभिन्न जिल्लामा पठाइएको पनि बताए ।
तथापि, हालसम्म २० लाख कार्ड मात्रै वितरण भएको उनको भनाइ थियो ।
कट्टेलले राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेका नागरिकको जैविक तथा व्यक्तिगत विवरणको सुरक्षामा ध्यान दिइएको बताए ।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दिन सुरुआती चरणमा केही झन्झट भए पनि यसको निर्माणपश्चात सेवा लिनका लागि निकै सहज हुने धारणा राखे ।
17 January 2025, Friday
Categorized in राष्ट्रिय