७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपतिको उपस्थितीमा प्रमुख तीन दलका नेताहरुसँग प्रधानमन्त्री कार्कीको वार्ता


प्रकाशित: मंगलवार, ८ पुस २०८२, १६ः४५ बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच छलफल भएको छ । 


जेन–जी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री कार्कीले तीन प्रमुख दलका नेताहरूसँग प्रत्यक्ष संवाद गरेकी हुन ।


राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा भएको उक्त छलफल राष्ट्रपति पौडेलकै पहलमा आयोजना गरिएको हो । 


छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन ।


छलफल मुख्यतः निर्वाचनको वातावरण निर्माणमा केन्द्रित रहेको छ । 


राष्ट्रपति पौडेलले यसअघि अन्तरिम सरकार गठन र त्यससँग सम्बन्धित विषयमा प्रधानमन्त्री कार्की र माओवादी अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 


तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भने यसअघि प्रत्यक्ष छलफल भएको थिएन ।


हालको राजनीतिक अवस्थालाई लिएर कांग्रेस र एमालेले सरकारको आलोचना गर्दै आएका छन । तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकिएको अवस्थाले निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको दाबी दुवै दलको छ ।


एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै प्रतिनिधिसभा पुनःस्थापनालाई प्राथमिक एजेन्डा बनाएका छन । 


प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कांग्रेस र एमालेले छुट्टाछुट्टै रिट निवेदन दायर गरिसकेका छन । 


कांग्रेसले बहुमत सांसदको हस्ताक्षरसहित मंगलबार पूरक निवेदन दर्ता गर्ने तयारी गरिरहेको पृष्ठभूमिमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूसँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल थालेका हुन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex